Logo
Logo

विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगे


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ११ साउन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता युकेमा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।


समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यो साता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता सङ्क्रमण बढेको छ ।

सङ्घका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ । नेपालमा शनिबार साँझसम्म सङ्क्रमितको सङ्ख्या १८ हजार ४८३ पुगेको छ ।

यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शनसमेत तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

विदेशमा अलपत्र ३४ हजार ८३० नेपालीको उद्धार

यो सातासम्म ३४ हजार ८३० नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो । यद्यपि साउन ८ गते बिहीबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगन गरेको छ । आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ ।

विदेशबाट अझै ९४ शव नेपाल ल्याउन बाँकी

यस्तै मलेशिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरियालगायतका देशबाट यो सातासम्म २१६ शव नेपाल पु¥याइ परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४७४ मध्ये १६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ शव नेपाल ल्याउन बाँकी छ ।

उच्चस्तरीय समितिको बैठक सम्पन्न

यसैबीच गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कोभिड–१९ उच्चस्तरीय समितिको बैठक शनिबार सम्पन्न भएको छ । अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ शुरु भएदेखि समितिले गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले कोरोना भाइरसको महामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली समुदायले व्यहोर्नुपरेको अप्ठ्यारो र संवेदनशील यस घडीमा मल्हम लगाउने काम भइरहेको भन्दै यस कार्यलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभयो । आइएलओले गरेको रु पाँच करोड सहयोगले सङ्घले नेपालीको मात्र नभएर अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्ने वातावरण बनेको भन्दै यसले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । उहाँले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किएका नेपालीको लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

बैठकमा महासचिव डा हेमराज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा दुई हजार १०० स्वयंसेवक खटिरहेको जानकारी दिनुभयो । उहाँले सङ्घका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमार्फत ८१ हजारभन्दा बढीले परामर्श लिएको बताउनुभयो । बैठकमा स्वास्थ्य समितिका संयोजक डा सापकोटाले गैरआवासीय नेपालीमा कोरोना प्रभावबाट बच्न र बचाउनका लागि भइरहेका प्रयास र जोखिम बढ्दै गएको पछिल्लो समयमा अपनाउनुपर्ने सावधानीका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा बोल्ने वक्ताहरुले कोरोना भाइरसको जोखिम अझै बढेकाले ढुक्क भएर बस्न नहुने र आफूले सावधानी अपनाए मात्रै अरुलाई पनि सङ्क्रमणबाट जोगाउन सकिन्छ भन्ने भावना मनन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सहभागीहरुले नेपालमा फर्किकाहरुलाई सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने जोखिम अझै बढेको बताउँदै त्यस सम्बन्धमा आवश्यक सावधानी अपनाउन उनीलाई सचेत बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्