Logo
Logo

पीएम कप एनभीए भलिबल लिग जेठ ८ देखि पोखरामा


315
Shares

काठमाडौं । नवौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग आउँदो जेठ ८ देखि पोखरामा सुरु हुने भएको छ । नेपाल भलिबल सङ्घले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ८ देखि १५ सम्म पोखरामा लिग हुने जानकारी गराएको हो ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ विभिन्न टिमहरूको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब सहभागी हुनेछन्।

महिलातर्फ नेपाल प्रहरी क्लब, एपिएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेश टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा प्रत्येक टिमले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउनेछन् । महिला तथा पुरुष दुवै तर्फका विजेता टिमलाई ८ लाख, उपविजेतालाई ४ लाख र तेस्रोलाई ६ लाख रुपैयाँ पुरस्कार दिइनेछ ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५०,००० रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५,००० रुपैयाँ पुरस्कार पाउने छन् ।

पोखरा उपत्यका बाहिरबाट सहभागी हुने टिमहरूलाई खेल अवधिभर प्रति खेलाडी १,२०० रुपैयाँ दरले रकम उपलब्ध गराइने छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा पुरस्कार रकम मात्रै ३२ लाख रुपैयाँ रहनेछ ।

यस प्रतियोगिताको विजेता टोली काभा भलिबल च्याम्पियनसिपमा सहभागी हुनेछन् । महिलातर्फको काभा नेपालमै हुँदैछ भने पुरुषको माल्दिभ्समा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्