Logo
Logo

नेकपाले बिर्सियो घोषणापत्र


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

कम्युनिष्टहरुका पिता कार्लमाक्र्सले सन् १८४३(४४ मा आफ्नो पुस्तक ‘हीगेलको दर्शनको आलोचनात्मक संक्षिप्त व्याख्या’मा लेखेका थिए ‘मनुष्य, मनुष्यका लागि आफैं महामानव हो । धर्मको आलोचना यो शिक्षाबाट समाप्त हुन्छ, त्यसकारण यी सबै सम्बन्धहरुलाई जरैदेखि उखेलेर फ्याल्नुपर्छ जसले मान्छेलाई दलित, निच र दास बनाउँछ । त्यसकारण धर्म अफिम हो ।’

तर उनै कार्लमाक्र्सका अनुयायी भनीने प्रधानमन्त्री केपी ओलीको मुखारविन्दबाट वाणी प्रस्फुटित भयो– ‘भारतले नक्कली अयोध्या खडा गरेर हाम्रो सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छ । वास्तविक अयोध्या त ठोरीमा छ ।’ उता दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यही श्रावण २१ गते उत्तर प्रदेश राज्यको फैजावाद जिल्लामा पर्ने अयोध्यामा भव्य राममन्दिर निर्माणको शिलान्यास गर्दैछन ।

प्रधानमन्त्रीमोदीको त सत्तारोहणको प्रमुख आधार नै धर्म भएको हुनाले उनले राममन्दिरको शिलान्यास गर्नु स्वाभाविक हो । तर माक्र्सवादका अनुयायी प्रधानमन्त्री ओलीले भारतमा राममन्दिर मुद्दा चर्केको बेला ‘ठोरी अयोध्याको बम’ किन विस्फोट गर्नुप¥यो ? सबैको कोतुहलताको विषयवस्तु बनेको छ । कहीँ प्रधानमन्त्री ओली शासनमा आफ्नो असफलता र पार्टीमा आफ्नो कमजोर पकडलाइ ढाकछोप गर्न नेपाली जनतालाइ धर्मको अफिम ख्वाउन त उद्यत भएका होइनन् ? किनभने प्रधानमन्त्री ओली वा भारतका प्रधानमन्त्री मोदीले उठाएको रामको जन्मस्थलको विवाद समाधानको कुनै पनि वैज्ञानिक आधारले पुष्टि गर्न सकिँदैन । इतिहास अध्ययन विज्ञान हो, जसले ठोस प्रमाणको माग गर्छ । प्रमाणबिनाको कुनै पनि कुरा इतिहास मान्न सकिँदैन । धार्मिक विषय व्यक्तिको वैयक्तिक स्वतन्त्रताको विषयवस्तु भएको हुनाले यसमा राज्यको हस्तेक्षप आवश्यक छैन ।

चुनावताका नेपाली जनतामाथि गरिएको यति ठूलो प्रतिबद्धता पूरा गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने नेकपाको दुईतिहाइको सरकार रामराज्यको बहसमा अल्झिनु कति ठिक कति बेठिक ? मतदाताबीच बहस हुनु जरुरी छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७४ का लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणापत्रमा सुशासन र समृद्धिका लागि वामपन्थी सरकारको नारा दिएर सत्तामा पुगेको नेकपा अहिले सत्तामा पु¥याउने जनतालाई दिएको वाचा चटक्क बिर्सिएर सत्ता आन्तरिक संघर्षमा अल्झिएको छ । अहिले नेकपा सत्तामा पुगेको तेस्रो वर्ष भइसकेको छ । तर नेकपाभित्र सत्तापक्षबीच नै कहिल्यै नसकिने लडाइँमा नेकपाको केन्द्रीय नेतृत्व व्यस्त छ । उनीहरुले चुनावताका नेपाली जनतासमक्ष गरेको वाचा बिर्सेका छन् । प्रधानमन्त्री ओली नेपाली जनतालाइ आफ्नो उखान टुक्काले मन बहलाउन व्यस्त छन् ।

यतिबेला साँच्चै भन्ने हो भने आफूले ठूलो आशा भरोसा र विश्वासकासाथ लगभग दुईतिहाइ बलियो बहुमतकासाथ सत्तामा पु¥याएको कम्युनिष्ट सरकारको यो हविगत देख्दा नेपाली जनता एकातिर आक्रोशित छन् भने अर्कोतिर निराश पनि भएका छन् । र नेपालको वामपन्थी आन्दोलन नै ठूलो खतरामा परेको छ ।

चुनावी घोषणापत्रको बुँदा नं २ मा उल्लेख गरिएका पार्टी निर्माणको यी कामहरू (विगत ५० वर्षदेखि विभाजित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न राष्ट्रको निर्णायक शक्तिका रूपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच २०७४ असोज १७ गते एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने ऐतिहासिक घोषणा हामीले गरेका छौँ । यो घोषणा कार्यान्वयनको पहिलो कदमका रूपमा हामीहरू राष्ट्रव्यापी तालमेल र वाम गठबन्धन निर्माण गर्दै निर्वाचनमा होमिएका छौँ ।

यस कदमसँगै मुलुकभित्र तथा बाहिर तरंग सिर्जना भएको छ । कम्युनिस्टहरूको फुटबाट फाइदा उठाउँदै राष्ट्र र जनतामाथि शासन गर्न पल्केका प्रतिक्रियावादीहरू आफ्नो ऐस र आरामको स्वर्णयुग समाप्त हुने भयले विक्षिप्त भएर कम्युनिस्ट अधिनायकवादको हौवा पिटाउन थालेका छन् । प्रतिक्रियावादीहरूले चलाएको यस्तो भ्रमपूर्ण हल्ला उनीहरूको हतास मनस्थितिको परिचायकभन्दा अरु केही होइन । हाम्रा दुई कम्युनिस्ट पार्टीहरूको यो एकता नेपालको संविधानको धारा २६९ को उपधारा १ मा उल्लेखित ‘समान राजनीतिक विचाराधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले’ राजनीतिक पार्टी निर्माण र सञ्चालन गर्न पाउने संवैधानिक प्रावधानअनुरूप छ । यो एकताको पहल नेपालका आम न्यायपे्रमी, प्रगतिशील र देशभक्त जनताको सम्मानको परिचायक हो । यो एकता प्रयत्न २००७ सालदेखि सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो । यो नेपाली जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माणको प्रतिबद्धता पनि हो । यो एकता राष्ट्र पुनःनिर्माण गर्ने संकल्पको द्योतक हो । यस महाअभियानमा सामेल हुन हामी विभिन्न कम्युनिस्टका अतिरिक्त सबै वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादीहरूलाई आह्वान गर्दछौं ।

विज्ञान र प्रविधिको विकास, विश्वव्यापीकरण, संसारका अधिकांश देशहरूको विकास र दु्रतगतिमा विकसित भइरहेका दुई छिमेकी मुलुकहरूको अगाडि अब नेपाललाई संसारकै अल्पविकसित, गरिब, पिछडिएको, परनिर्भर र हेपिएर बस्न बाध्य मुलुकका रूपमा कदापि राख्नु हुँदैन । राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, स्वाभिमान र अखण्डता जोखिममा रहने स्थिति सदाका लागि अन्त्य गर्नुपर्दछ । नेपालसँग समृद्धिका अथाह आधारहरू छन् । राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्ने वीर पुर्खाका सन्तान हामीहरू श्रमशक्तिका रूपमा छौं । नेपालको विकासका निम्ति संसारभरिबाट करोडौं हातहरू सहयोगका निम्ति तयार छन्, मात्र यी सबै सकारात्मक पक्षहरूलाई उपयोग गर्न सक्ने राष्ट्रिय नेतृत्वको खाँचो छ । यस्तो नेतृत्व क्षमता एकताबद्ध भइरहेका यी दुई कम्युनिस्ट पार्टीहरूसँग मात्र छ । यही क्षमतालाई उजागर गर्न हामी दुई कम्युनिस्ट पार्टीहरूले एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने घोषणा गरेका हौं ।

‘नेपालको संविधानले सामाजिक–आर्थिक रूपान्तरणसहित समाजवादउन्मुख व्यवस्थातर्फ मार्गनिर्देश गरेको छ । संविधानको यसै मार्गनिर्देशबमोजिम अगाडि बढ्न हामी प्रतिबद्ध छौँ । आजको समाजवाद आजकै विशेषतामाथि आधारित भएर मौलिक ढंगले मात्र निर्माण गर्न सकिन्छ र गर्नुपर्दछ । प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली र लोकतान्त्रिक मूल्य–मान्यता नेपाली समाजवादका विशेषताका रूपमा रहनेछन् । यो नेपाली जनताको चाहना र देशको आवश्यकता हो । यस समाजवादमा देश विकासका लागि राष्ट्रिय पुँजीको संरक्षण, विकास र परिचालन गरिनेछ । जनताको समर्थन प्राप्त हुँदा हामी राज्यको नेतृत्व गर्नेछांै, समर्थन प्राप्त भएन भने प्रतिपक्षमा रहनेछौं । तर, संविधानसम्मत समाजवाद उन्मुख प्रणालीलाई भत्काएर राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने प्रयासलाई भने सफल हुन दिँदैनौँ ।

पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको छ । एकीकरणको काम पूरा नहुँदासम्म दुवै पार्टीका सबै कमिटी र जनसंगठनहरू यथावत् रूपमा सञ्चालनमा रहनेछन् । निर्वाचन सम्पन्न भएपछि पार्टी एकीकरणका निम्ति आवश्यक कामहरू अघि बढाइनेछन् । जति सक्यो छिटो ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गरी विधिवत एकीकृत पार्टी निर्माण गरिनेछ । केही कानुनी जटिलता र भावनात्मक पक्षलाई ध्यान दिँदै आगामी प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जनताबीच जान नसकिएकाले निर्वाचनमा दुवै पार्टीका चुनाव चिह्नहरू प्रयोग गरिनेछन् । नेकपा (एमाले) का उम्मेदवारहरूका निम्ति सूर्य चिह्नमा मतदान गरिनेछ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवारहरूका निम्ति गोलाकारभित्र हँसिया–हथौडा चिह्नमा मतदान गरिनेछ’, भनिएको छ ।

चुनावताका नेपाली जनतामाथि गरिएको यति ठूलो प्रतिबद्धता पूरा गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने नेकपाको दुईतिहाइको सरकार रामराज्यको बहसमा अल्झिनु कति ठिक कति बेठिक ? मतदाताबीच बहस हुनु जरुरी छ ।

Twiter : rmshghimire

प्रतिक्रिया दिनुहोस्