
मोडल तथा डान्सर श्रीस्वस्थानी तामाङ यतिखेर चर्चामा छिन् । उमेरले भर्र्खरै २१ टेकिन् तर, छोटो समयमै उनी रुचाइएकी डान्सर तथा मोडल बनेकी छन् । सानैदेखि डान्स गर्दै आएकी तामाङ भन्छिन्, ‘कलाकार भएर म सबैको मनमा बस्न चाहन्छु ।’ मिथिला शर्माको नृत्यबाट प्रभावित श्रीस्वथानीले जब ‘प्रतिभाको आँगन’मा सर्वोकृष्ट डान्सरको उपाधि हासिल गरिन्, तब उनी चर्चा आइन् । हाल स्नातक पढ्दै गरेकी उनी भन्छिन्, ‘पढाइ सँगसँगै डान्स र कला क्षेत्रलाई पनि अगाडि बढाउने सोच छ ।’ कला क्षेत्रमा सफलता प्राप्त गर्नका लागि दिनरात मेहनत गर्न उनी तयार छिन् । उनी कुसल डान्स टिचर पनि हुन् । उनी नेपाली फिल्ममा अभिनय गर्न रुचाउँछिन् । कराँते खेलाडीसमेत रहेकी नृत्यांगना तथा मोडल श्रीस्वथानी तामाङसँग जम्काभेट :
हाल केमा व्यस्त हुनुहुन्छ ?
आजभोलि म केही स्कुलहरूमा डान्स टिचरको रुपमा काम गर्छु । नियमित साथै, डान्स प्राक्टिस र विभिन्न कर्पोरेट इभेन्ट, महोत्सवका साथै अवार्ड कार्यक्रममा व्यस्त छु ।
अभिनय सिक्नु कतिको आवश्यक छ ?
जीवनमा अगाडि बढ्नका लागि शिक्षाको निकै महत्वपूर्ण भूमिका हुन्छ । कुनैपनि क्षेत्रमा सफलता हासिल गर्न ज्ञानको आवश्यकता र जरुरत छ । यदि, कोही व्यक्ति म कलाकार बन्छु भन्यो भने अभिनयको ज्ञान हुनु आवश्यक छ । जीवनमा सिकेका कुराहरू कहिले पनि खेर जाँदैन । अहिले अभिनय सिक्नको लागि थिएटरहरू र फिल्म कलेजहरू धेरै छन् । डाक्टर पढ्न विज्ञानको आवश्यकता छ भने जस्तै कोही व्यक्ति कलाकार बन्न चाहन्छन् भने अभिनय सिक्न निकै आवश्यक छ ।
कला क्षेत्रमा भविष्य देख्नुहुन्छ ?
विद्यार्थी जीवनदेखि नै म स्कुलको नृत्य प्रतियोगिताहरुमा प्रथम हुन्थेँ । सानैदेखि डान्स भन्नेबित्तिकै हुरुक्क हुन्थेँ म । मेरा गुरुवर्गहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । आज यो स्थानमा पुग्नका लागि उहाँहरुको धेरै नै मेहनत छ म माथि । आफूलाई अब्बल बनाउनका लागि दिनरात मेहनत गर्दैछु । सायद मिहिनेत गर्दै जाँदा यो क्षेत्रमा करिअर बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ । भविष्य समयले बताउने हो ।

कस्तो डान्स गर्न रुचाउँन रुचाउँनुहुन्छ ?
एउटा कलाकार भएपछि सबै प्रकारका नृत्यको ज्ञान हुनु आवश्यक छ । कल्चर डान्स, कन्टेम्पोररी डान्स, बलिउड डान्स, सबै फर्मका डान्सहरूको ज्ञान हुन आवश्यक छ । म सबै प्रकारका डान्स गर्न सक्छु । खाशगरी ‘भर्सटाइल डान्सर’को रुपमा चिनाउन चाहन्छु ।
कला क्षेत्रमा भविष्य छैन भन्नेलाई के भन्नुहुुन्छ ?
कला क्षेत्रमा लाग्नका लागि सर्वप्रथम धैर्यता, मेहनत र अनुशासित हुनु निकै आवश्यक छ । अहिले हरेक क्षेत्रमा भविष्य देख्न सकिन्छ । समय लाग्न सक्छ तर मेहनतले त्यो गन्तव्यमा अवश्य नै पुर्याउँछ । सफल भएन भने निराश हुनु पर्दैन । आफ्नो निरन्तर प्रयास जारी राख्न आवश्यक छ । आज कला क्षेत्रबाट धेरै कलाकारहरूले घर, जग्गा, गाडी, बैंक ब्यालेन्स जोड्न सफल भएका छन् । कला क्षेत्रमा कसरी भविष्य छैन भन्न सक्छौँ त ? जीवनमा हार कहिल्यै खानुहुन्न । प्रयास गरिरहनुपर्छ । सफलता तपाईँको आफ्नो वरिपरि नै हिँडिरहेको हुन्छ । भविष्य खोज्ने होइन भविष्य बनाउने हो ।
नेपाली फिल्म क्षेत्रमा आउने सोच छैन ?
सानै उमेरदेखि नै कलाकार बन्ने सोच भएको कारणले आफूलाई राम्रोसँग तयार गरेर फिल्म क्षेत्रमा आउन चाहेकी थिएँ । मलाई नेपाली फिल्म निकै मनपर्छ । म आफ्नो कला र क्षमताले अगाडि बढ्न चाहन्छु । म पूर्ण रूपले तयार छु । राम्रो स्क्रिप्ट र राम्रो टिम पायो भने अवश्य फिल्म खेल्ने छु ।
आफूले रोजेको क्षेत्रमा स्थापित हुन्छु भन्ने ग्यारेण्टी के छ ?
ग्यारेण्टी छैन । तर, ग्यारेण्टी आफैँले गर्नुपर्छ । म मिहिनेत र अनुशासित र लगनशिलताका साथ अगाडि बढ्न चाहन्छु । संघर्ष, मिहिनेत र लगनशिलताले मानिसलाई सफलता दिलाउँछ । म सँग आत्मविश्वा र धैर्यता छ ।
भविष्यको लक्ष्य के छ ?
अहिले म अध्ययनसँगै कलाकारितालाई अँगालेकी छु । मलाई यही क्षेत्रमा स्थापित हुनु छ । त्यसका लागि संघर्ष गर्दैछु । सानैदेखि कलाकारिताप्रति मेरो लगाव थियो । कलाकारिताबाहेक अन्यतिर मैले सोचेकै छैन । मोडलिङ र नृत्यसँगै फिल्म अभिनय गर्ने मेरो रुची हो । म कलाकारितामार्फत आफ्नो देशलाई संसारभरि चिनाउन चाहन्छु । लक्ष्य पनि यही नै लिएकी छु ।
कलाकारिताबाहेक के गर्नुहुन्छ ?
अध्ययन गर्छु । डान्स सिकाउँछु । म कराँते खेलाडी पनि हुँ । हिजोआज यिनै कुरामा व्यस्त छु । अन्यतिर ध्यान दिनै भ्याएकी छैन ।
अन्त्यमा युवा वर्गलाई के भन्न चाहनुहुन्छ ?
मान्छेको जीवन कहाँ गरेर टुंगिन्छ त्यो थाहा हुँदैन । जीवनलाई अविस्मरणीय बनाउनको लागि सधैँ खुसी रहनुपर्छ । सफल भएन भनेर हरेस कहिले खानु हुँदैन । मिहिनेतको फल अवश्य पाइन्छ । जीवन एउटा चक्र हो । जीवनमा आइपरेका हरेक अप्ठ्याराहरूलाई सहज रूपले स्वीकार्नु आवश्यक छ । हामी हाम्रो आदि जीवन सुतेरै बिताउँछौँ । समय बलवान छ । समयको सही सदुपयोग गरौं । मानव चोलालाई सार्थक बनाउन आवश्यक छ । समय कहिले फर्केर आउँदैन । आफूभित्र भएका प्रतिभालाई उजागर गरौँ र कसैको दबाब वा प्रभावमा नपरौँ ।












