काठमाडौं । आयुर्वेद विभागका महानिर्देशक डा श्यामबाबु यादव आयुर्वेद काउन्सिलको अध्यक्ष पनि हुने दाउमा अगाडि बढेका छन् । २०८२ वैशाखबाट आयुर्वेद काउन्सिलका अध्यक्ष, रजिष्टार लगायतका पदरिक्त छ । देशभरका आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीलाई नियमनदेखि अनुमति दिने अधिकारप्राप्त काउन्सिलका पदाधिकारी रिक्त हुँदा सम्पूर्ण कामकारबाही ठप्प भएका छन् ।

विगत ९ महिनादेखि आयुर्वेद विभागको निमित्त महानिर्देशकको भूमिकामा रहेका श्यामबाबु आयुर्वेद चिकित्सक संघका अध्यक्षसमेत हुन् । त्यतिले नपुगेर उनी अहिले आयुर्वेद काउन्सिलको समेत अध्यक्ष हुने चलखेलमा लागेपछि आयुर्वेद चिकित्सकहरू नै चकित भएका छन् । आयुर्वेदमा कोही नभए जसरी सबै पद डा. यादवलाई नै चाहिने गरी उनी काउन्सिलमा नियुक्ति पड्काउन अगाडि बढ्दा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयले उनलाई भरपूर साथ दिएको छ । सचिवालयलाई प्रभावमा पारी जसरी भए पनि काउन्सिलको अध्यक्ष हुन श्यामबाबु लागिरहेका छन् । त्यसका लागि उनले ब्रिफकेस नै बोकेर हिंडेको आरोप छ ।
त्यसैगरी काउन्सिलको अध्यक्ष नियुक्तिका लागि नरदेवी आयुर्वेद अस्पतालका निर्देशक डा. रामदेव यादव र आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका आजीवन कार्यकारी निर्देशक डा. रामआधार यादव पनि दौडधूपमा लागेका छन् । तीन यादवहरू मन्त्रीका आसेपासेहरूसँग आर्थिक प्रलोभनसहित काउन्सिलको अध्यक्ष बन्न अग्रसर देखिएपछि अन्य जिम्मेवारी नपाएकाहरू जिल्लाराम परेका छन् ।
सो पदका आकांक्षी रहेका डा. प्रकाश ज्ञवाली सेवा परिवर्तन गरेरै जनस्वास्थ्य प्रशासक नवौं तहमा लोकसेवा आयोगबाट नाम निकालेपछि अध्यक्षमा यी तीन यादवकै भीडन्त हुने देखिएको छ । तीनवटा महत्वपूर्ण आयुर्वेद क्षेत्रको जिम्मेवारीमा रहेका तीन यादवहरूको काउन्सिलको अध्यक्षका लागि पदीय महत्वाकांक्षा बढ्नुले आयुर्वेद क्षेत्रमा तीन यादवबाहेक प्रवेश निषेध जस्तै देखिएको छ ।
यसैगरी, २ महिनाअघि प्रदेश सचिवबाट फर्काइएका एघारौं तहका बरिष्ठ आयुर्वेद चिकित्सक बासुदेव उपाध्यायलाई हालसम्म मन्त्री पौडेलले जिम्मेवारी नदिइ बरन्डामा हाजिर गराएर राखेका छन् । ११औं तहमा बढुवा भएको १२ बर्ष पुगिसकेका उपाध्याय १२ औं तहमा बढुवाका दाबेदार थिए । तर उनीबाहेक ३ जनालाई १२ तहमा बढुवाका लागि सिफारिस गरिएको छ । नरदेवी आयुर्वेद चिकित्सालय र आयुर्वेद बिभागको प्रमुखमा ११ औं तहको दरबन्दी हो । तर दुवै निकायमा १० औं तहका रामदेव यादव र श्यामबाबु यादवले निमित्त प्रमुख चलाउँदैआएका छन् । जसमध्ये नरदेवीका डा. रामदेव आगामी भदौमा अवकाश हुँदैछन् ।
आयुर्वेद चिकित्सा पद्धतिप्रति आम जनतामा विश्वास जगाउनेभन्दा पनि नचाहिने औषधिसमेत लेखेर आफ्नो औषधि पसलमा किन्न बाध्य पार्ने काम रामदेवले गरेको आरोप छ । तर स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यादवको विकल्प नखोजी उनलाई नै राखिरहेका छन् । यादव दैनिकजसो मन्त्री पौडेलका परिवारका सदस्यहरूको चाकरीमा गएर पद जोगाउन र आफ्ना भ्रष्टाचार ढाकछोप गर्न तल्लीन रहँदैआएका छन् ।
रामदेव अति विवादित आयुर्वेद चिकित्सक हुन् । उनको शैक्षिक योग्यताको बारेमै प्रश्न छ । इन्टर्नसीपमा आएका विद्यार्थीसँग घुस लिएपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी भ्रष्टाचार मुद्दा चलाएको थियो । तर अदालतमा चलखेल गरी मुद्दा जितेपछि उनी जागिरमा पुनर्वहाली भएका थिए । त्यसो त रामदेव नरदेवी आयुर्वेद अस्पतालको निमित्त प्रमुख भएपछि उक्त अस्पतालको प्रगति खस्केको खस्क्यै छ ।
अस्पतालको मूलढोकामा उनको औषधि पसल छ । जुन पसलमा उनले छोरालाई राखी अस्पतालका सबै चिकित्सकलाई उनकै औषधि पसलमा मात्र बिरामी पठाउन दबाब दिने गरेका छन् । अस्पतालका चिकित्सक कर्मचारीका लागि सरकारले प्रदान गरेको प्रोत्साहन भत्तासमेत उनले आएको छैन भन्दै भ्रष्टाचार गरेको आरोप छ ।
यादव आउनुअघि नरदेवी अस्पतालको गुणस्तर राम्रो रहेको र दिनमा १ सयभन्दा बढी बिरामी आउने गरेकोमा उनी गएपछि दैनिक २५ जना पनि आउन छाडेका छन् । आयुर्वेद चिकित्सा पद्धतिप्रति आम जनतामा विश्वास जगाउनेभन्दा पनि नचाहिने औषधिसमेत लेखेर आफ्नो औषधि पसलमा किन्न बाध्य पार्ने काम रामदेवले गरेको आरोप छ । तर स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यादवको विकल्प नखोजी उनलाई नै राखिरहेका छन् । यादव दैनिकजसो मन्त्री पौडेलका परिवारका सदस्यहरूको चाकरीमा गएर पद जोगाउन र आफ्ना भ्रष्टाचार ढाकछोप गर्न तल्लीन रहँदैआएका छन् ।