कलाका पनि विधा हुन्छन् । तीमध्ये रंगमञ्चमा जीवन खोज्दैछिन् केनिपा सिंह पहारी । उनी एक दशकदेखि रंगमञ्चमा संघर्षरत छिन् । ‘नाटकमा मेरो धित् मरेकै छैन’ वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलसँग मण्डला थिएरटरमा अभिनयमा प्रशिक्षारत केनिपा भन्छिन्, ‘अभिनय पनि नशा हो । मलाई नाट्य क्षेत्रले मोहित बनाएको छ । अभिनयको मलाई नशा चढेको छ ।’ हालसम्म साढे दुई दजर्नभन्दा बढी नाटकमा अभिनय गरिसकेकी केनिपाले केही नेपाली फिल्म, विज्ञापन र म्युजिक भिडियोहरूमा पनि अभिनय गरेकी छिन् । तर, उनी रंगमञ्चमै स्थापित हुन चाहन्छिन् । ‘मेरो मुख्य लक्ष्य र उद्देश्य नै रंगमञ्च जम्नु हो’ उनी भन्छिन । यिनै कलाकी पारखी केनिपा सिंह पहारीसँग रेजिना पाण्डेको जम्काभेट :

रंगमञ्चमा तपाईँको प्रवेश कसरी भयो ?
सानैदेखि रुची र रहर थियो । तर, अवसर पाएकी थिइनँ । सन् २०१४ मा प्लस–टु सकेपछि मात्र सुनिल पोखरेलसँग मण्डला थिएटरमा तीनमहिने कक्षा लिने मौका पाएँ । त्यतिबेला सुुनिल पोखरेलको निर्देशनमा ‘जार’ नामक नाटकमा लिड रोल गर्ने मौका मिल्यो । जुन नाटक रुचाइयो । त्यसपछि अन्य नाटकमा पनि अवसरहरू आउन थाले । अहिले दुई दजर्नभन्दा बढी नाटकहरू गरिसकेँ ।
नाटकबाहेक अरु के गर्नुहुन्छ ?
विज्ञापन र म्युजिक भिडियोहरूमा पनि मोडलिङ गर्छु । आधा दर्जनजति भिडियो गरेकी छु । साथै, ‘साइँली’ नामक सर्ट फिल्ममा पनि काम गरेकी छु । र, एउटा भारतीय सर्ट फिल्ममा पनि काम गरेकी छु ।
हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
फाट्टफुट्ट काम भइरहेको छ । नाटकको रिहल्सल पनि भइरहको छु । साथै, केही सिनेमामा पनि कुरा भइरहेको छ । अहिले एउटा सिनेमाको स्क्रिप्ट हेरिरहको छु र म्युजिक भिडियोमा पनि काम गर्दैछु । खाली बस्नुपरको छैन ।
विवाहपछि कला क्षेत्रमा काम गर्न कतिको सहज छ ?
पहिला पनि असहज थिएन । हाम्रो नातागोता कसैले पनि यो काम नगरेको भएर नयाँ काम के होला ? कस्तो होला ? भनेर परिवारबाट हल्का हस्तक्षेप भएको थियो । बुझेपछि सहज भयो । विवाहपछि सबै यसै क्षेत्रमा भयौँ । श्रीमान सुलभ, ससुरा टिका पहारी, गौरव पहारी सबै यही क्षेत्रमा भएकाले काम गर्न धेरै सजिलो भएको छ ।
तपाईँको श्रीमान निर्देशक हुनुहुन्छ । श्रीमानसँग काम गर्ने योजना बनाउनुभएको छ ?
चाँडै नयाँ प्रोजेक्टमा हामी सँगै काम गर्दैछौँ । थप योजनाहरू पनि बनाउँदैछौँ । चाँडै हामीलाई दर्शकले एकसाथ काम गरेको देख्न पाउनुहुनेछ ।
परिवारै कलाकार, घरको माहोल त रंगिन होला होइन ?
हो, ससुरा टिका पहारी, दादा, श्रीमान, दिज्यू, ममी र म सबै यही क्षेत्रमा छौँ । हामी परिवारिक भेट हुँद पनि फिल्मी कुराबाहेक अरु केही हुँदैन ।
टिका पहारी तपाईँको दृष्टिकोणमा राम्रो कलाकार कि राम्रो ससुरा ?
मेरो नजरमा उहाँ राम्रो मान्छे हुनुहन्छ । साथै असल अभिभावक पनि । कलाकारितामा उहाँको आफ्नै पहिचान छ । उहाँ राम्रो कलाकार हुनुहुन्छ ।
प्रायः रिल लाइफमा उहाँ नेगेटिभ क्यारेक्टरमा देखिनुहन्छ । रियलमा कतिको नेगेटिभ हुनुहुन्छ ?
रियलमा उहाँले घमण्ड गरेको र नकारात्मक सोचेको देख्दिनँ । फिल्मको क्यारेक्टरमा उहाँ भिलेन तर उहाँको धेरै फिल्महरूमा सकारात्मक भूमिका पनि गर्नुभएको छ । जुन दर्शकका लागि प्रिय पनि छन् । फिल्ममा क्यारेक्टरमा डुब्नुपर्छ । कथाले मागेको पात्र भएर उभिनुपर्छ । सकारात्मक र नकारात्मक जे पनि हुन सक्छ । टिका पहारी एउटा असल मान्छे हुनुहुन्छ ।
काम गर्न नाटकमा सजिलो कि फिल्ममा ?
काम गर्न फिल्ममा सजिलो छ । थिएटरमा काम गर्न धेरै कन्फिडेन्ट हुनुपर्छ । धेरै तयारी पनि हुनुपर्छ तर फिल्ममा बिग्रियो भने पनि दोहो¥याइ–तेह¥याइ गर्न मिल्छ । तर नाटकमा मिल्दैन ।
कलाकारितामै जीवन धान्न सकिन्छ ?
सकिँदैन । नाटक मात्र होइन नेपालको अवस्था हेर्ने हो भने हरेक क्षेत्रको अवस्था गम्भीर छ । तर, काम त गर्नै प¥यो । नाटक एउटा नशा हो, जसमा लागेपछि निस्कँनै गाह्रो हुन्छ । यो कुरा नाटक र कला बुझ्नेलाई मात्र थाहा हुन्छ । काम गर्दै जाँदा नाटकमा पनि भविष्य राम्रै छ ।
रंगमञ्चका कालाकार फिल्ममा गएपछि रंगमञ्च बिर्सन्छन् भन्छन् नि ?
थिएटर कलाकारहरू फिल्ममा लागेपछि फर्केका छैनन् भन्न मिल्दैन । दुवै मिलाएर गर्ने कलाकारहरू पनि छन् । तर, फिल्ममा गएपछि निरन्तर काम पाउदा दर्शकको रोजाई र पैसा पनि राम्रै हुने भएकोले होला उतै व्यस्त हुन्छन् । नाटकमा खासै आम्दानी हुँदैन । नाटक गरेपछि अर्को नाटक बन्ला वा नबन्ला धेरै रिक्स छ । नाटकमा रहर हुँदाहँुदै पनि विविध कारणले फिल्ममा गएकाहरू यहाँ धेरै छन् ।
नाटकमा भविष्य छैन भन्दै गर्दा युवाहरू किन नाटकप्रति आकर्षित देखिन्छन् ?
अहिले धेरै युवाको रोजाइमा पर्छ नाटक । यो बिषय पढ्नेको एक प्रकारले घुइँचो नै छ । नाटकलाई प्रेम गर्नेहरू धेरै छन् । नाटकमा निखार आयो भने सजिलै फिल्ममा अवसर पाउने र दाम पनि कमाउने अवसर मिल्ने हुँदा पनि नाटकको क्रेज बढेको छ ।
तपाईँको प्राथमिकता नाटक कि फिल्म ?
रंगमञ्च । मेरो रंगमञ्चमा काम गर्ने धोको पुगेकै छैन । खासमा म कलाकार हुँ । फिल्ममा पनि काम गर्ने अवसर भने गुमाउन सक्दिनँ ।











