Logo
Logo

सवारी पास दुरुपयोग गर्ने दुई प्रहरी नियन्त्रणमा


- दृष्टि न्युज/संवाददाता


कैलाली, १६ साउन । कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई बिहीबार साँझ नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अछामको चौरपाटी गाउँपालिका–५ बस्ने बस चालक गोकुल खड्कासहित उनले चलाइरहेको ना४ख ९९७२ नंको बस नियन्त्रणमा लिएको जनाएको छ । सवारी पास जाँच गर्दा १३ यात्रु लैजाने अनुमति भएको र उक्त बसले २२ यात्रु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने भरतसिंह धनाडीलाई महेन्द्रनगरबाट बैतडीतर्फ गइरहेको ना७ख २७२३ नंको बससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सवारी पासमा १८ यात्रु लैजाने अनुमति दिइएकामा ३२ यात्रु राखेको पाइएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बससहित चालकलाई सङ्क्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाइएको प्रहरीले जनाएको छ ।

फरार अभियुक्तलाई ९ वर्षपछि पक्राउ

प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका–९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताउनुभयो ।

चौधरीले २०६७ कात्तिक ४ गते ती महिलालाई जबर्जस्ती करणी गरी फरार भएका थिए । कैलाली जिल्ला अदालतको विसं २०७१ वैशाख १७ गतेको आदेशले उनलाई छ वर्ष कैदको सजाय तोकेको थियो । चौधरीलाई साउन १२ गते पक्राउ गरी १४ गते पुपक्र्षका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

एक जनाको शव फेला

भजनी नगरपालिकामा बाढीमा बगेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव फेला परेको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि बेपत्ता भएका भजनी नगरपालिका–८ जनकपुर गाउँका नौ वर्षीय इजीकेल चौधरीको शव मृतावस्थामा फेला परेको हो ।

बाढीमा बगेर भजनी नगरपालिका–८ बस्ने ३३ वर्षीय चक्रबहादुर विक, काँडाढिकगाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अुनपशम्सेर जबराले बाढीमा बगेर बेपत्ताको खोजी भइरहेको बताउनुभयो । बुधबार बेपत्ता भएका टङ्क शाही, हेमन्त शाही, विकी शाह, बलबहादुर चौधरीको सकुशल उद्धार गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्