Logo
Logo

बडीमालिका तीर्थयात्रामा हिँडेको मन्त्रीको टोली पहिरोका कारण बीच बाटोबाटै फिर्ता


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १६ साउन । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल बडिमालिका तीर्थका लागि हिँडेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहितको टोली बीच बाटोबाटै फर्किएको हो । धनगढीबाट बडिमालिकामा साउन १८ गते जनैपूर्णिमाको अघिल्लो दिनमा लाग्ने पूजाका लागि आएका मन्त्रीसहित २१ जनाको टोली पहिरोले जान नसकिने भन्दै बाजुराको बाजुर्गाडबाट फिर्ता भएको छ ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, सामाजिक विकास मन्त्रालयका सचिब शंकरप्रसाद खरेललगायतको टोली १५ गते बाजुराको बार्जुगाडमा पहिरो आएको भन्दै फिर्ता भएको मन्त्रालयले जनाएको छ । अबिरल वर्षाले साँफे–मार्तडी सडकखण्डको बार्जुगाडबाट मार्तडीसम्म ठाउँठाउँमा पहिरो गएर हिँड्न नसकिने अवस्था भन्दै फिर्ता भएको हो ।

धेरै ठाउँमा सडक पहिरोले तहसनहस पारेकाले मन्त्रीको टोलि फिर्ता भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । उहाँहरुको टोली ठूलो भएको र सामान बोक्न सक्ने अवस्था र हिँडन पनि समस्या भएकाले मन्त्रीको टोली फिर्ता भएको गैह्रेले बताए । बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्छ । यस वर्ष बडिमालिकामा साउन १८ गते मूलपूजा गर्न मेला लाग्ने भएको छ । समुद्री सतहबाट ४ हजार २१६ मिटर उचाइमा बडिमालिका रहेको छ ।

औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका बडिमालिका जाने गरेका छन् । बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकाको सिमानामा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउछन् । स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बाया अंग पतन भएको थियो । मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन् ।

देश विदेश बाट पनि तिर्थालु पुग्ने गर्दछन । बडीमालिका माईको दर्शनका लागी विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, जुम्ला, मुगु हुम्ला र कालिकोटबाट तिथार्लु पुग्ने गर्दछन् । काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ । बडीमालिका माइको पूजा गर्दा र बर माग्दा चाहेको कुरा पुरा हुने विश्वास रहेको छ ।
– नन्दा थापा

प्रतिक्रिया दिनुहोस्