Logo
Logo

कतारमा ट्याक्सी गुडाउँदै नेपालकी ‘महारानी’


36.7k
Shares

काठमाडौं । ‘लाईदेउ मोहनी’, ‘दिलकुमारी’, ‘झिलिमिली रमाइलो’ जस्ता दर्जनबढी गीतका गायिका इन्दिरा शाह ‘महारानी’ केही समय यता सांगीतिक क्षेत्रमा बेखबर छिन् ।

सांगीतिक क्षेत्रबाट एकाएक ओझेल परेकी ‘महारानी’ हिजोआज कता के गर्दैछिन् ? सम्भवतः उनका सांगीतिक फ्यानलाई यस्तै चासो र कौतुहलता हुनसक्छ ।

गायिका ‘महारानी’ करिब पाँच वर्षयता सांगीतिक माहोलबाट टाढा छिन् । त्यसो त उनी सन् २०१३ देखि नै कतार आउने जाने गर्थिन् । तर, पछिल्लो करिब पाँच वर्षयता भने उनी कतार गएर नेपाल आएकी छैन। उनी त्यहाँ ट्याक्सी चलाउँछिन् । ट्याक्सी चलाउनु उनको रुची पनि हो । उनले भनिन्, मेरो इच्छा ठूलो थियो ट्याक्सी चलाउने, ड्राइभिङ गर्ने । त्यही भएर मैलेचाहिँ ड्राइभिङ गरेको हो । अरु कामहरुभन्दा धेरै राम्रो पनि छ यो ।’

दृष्टिन्युजको सम्पर्कमा आएकी गायिका इन्दिरा अर्थात महारानीले भनिन्, ‘म यहाँ झण्डै चार वर्षदेखि ट्याक्सी चलाउँदै आएकी छु ।’ सोही क्रममा उनले ट्याक्सी चलाउनु आफ्नो रुची भएको बताइन् ।

गायिका इन्दिराको आफ्नै सोच र धारणा छ । उनी नेपालमा हुँदा पनि फरक किसिमले आफूलाई चिनाउन चाहन्थिन् । उनी उपनाम ‘युनिक महारानी’का रुपमा बढी चिनिन्छिन् । केही वर्षअघि दृष्टिसँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘म अरुभन्दा युनिक छु, त्यसैले आफूलाई महारानी भनेर शोसल मिडियामा चिनाउँदै आएकी छु ।’

२०५९ सालदेखि गायनमा होमिएकी इन्दिराले १८ वटा गीति एल्बम ल्याइसकेकी छन् । तर, अब पुनः गायनमा फर्किन्छु वा फर्कन्न भन्ने उनैलाई थाहा छै्रन । ‘खै, नेपालमा केही गर्न सकिएन’ त्यसैले कतार आएँ’ उनले भनिन्, ‘यहाँ ट्याक्सी चलाएर जसोतसो आफूलाई पुग्ने कमाइ गरिरहेकी छु । नेपालमा त त्यो पनि गर्न सकिएन ।’

उनी कतारमा बिहान सबेरै ट्याक्सी लिएर सडकमा निस्किछिन् र साँझ अबेरसम्म प्यासेन्जर ओसारछिन् । ‘कहिलेकहिँ त रातिको १२ नै बज्छ’ उनले भनिन् । कतारमा सडकमा ट्याक्सी चलाउँदा आफूलाई कुनै अप्ठ्यारो महसुश नभएको उनले बताइन् । अरु काम भन्दा ट्याक्सी चलाउन सजिलो र आम्दानी पनि राम्रो हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्