
बंगलादेशको विद्यार्थी विद्रोहका पछाडि युएसएआइडीको अदृश्य लगानीका रिपोर्टहरू आए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले बङ्गलादेशलाई लोकतन्त्र, सुशासन, शिक्षा, स्वास्थ्यका क्षेत्रमा दिँदै आएको रकम रोकेका छन् । त्यस्ता रकम बंगलादेशको सत्ता उथलपुथलको माहौल तयार गर्न खर्चिएको तथ्यहरू बाहिर आए ।
बङ्गलादेशमा मात्र नभई चिकेन नेक भनिने भारतको साँघुरो भूभागसँग जोडिएका पूर्वोत्तर राज्यहरूमा अमेरिका, चीनलगायत युरोपका बलिया देशको चासो बढ्दो छ । नेपाल र विशेष गरी पूर्वी नेपालमा चासो बढेको देखिन्छ ।
सिलगुढी कोरिडोरको २२ किलोमिटरको साँघुरो क्षेत्र ‘चिकेन नेक’ले भारतको मुख्य भूमिलाई पूर्वोत्तर आठ राज्यसँग जोडेको छ । भारतको सिलगुढी कोरिडोरबाट जोडिएका राज्यहरूमा आसाम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, अरुणाञ्चल र सिक्किम हुन् ।
‘ चिकन नेक’को दुईतर्फ नेपाल र बंगलादेश छन् । केही पर चीन र म्यानमार छन् । यसकारण सामरिक महत्वको क्षेत्र हो चिकेन नेक । जहाँ शक्तिराष्ट्रहरुको चासो निकै छ । भारत यो क्षेत्र र वरपरको क्षेत्रबाट हुनसक्ने सुरक्षा चुनौतीप्रति निकै सजग रहेको बुझ्न सकिन्छ ।
‘चिकन नेक’सँग टाँस्सिएको छ विगतको पूर्वी पाकिस्तान जुन स्वतन्त्र भएपछि बंगलादेश बन्यो । यो संवेदनशील क्षेत्रसँग जोडिएकाले बंगलादेश निर्माणमा भारतले मुख्य भूमिका खेलेको थियो । उसका लागि पृथकतावादीबाट पूर्वात्तर भारतका राज्यहरूलाई जोगाउने चुनौती थियो । जसका कारण भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले बंगलादेशको जन्ममा भूमिका खेलिन् ।
सन् १९७३ मा सिक्किममा भारतको सैनिकले नियन्त्रण बनाएर सन् १९७५ मा विलयको घोषणा भयो । सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएपछि यो घटना भएको थियो । ‘चिकन नेक’ वरपर भारतले सुरक्षा संवेदनशीलता देख्ने गरेको छ । पूर्वोत्तर राज्यहरूमा उसले सबैभन्दा बढी सुरक्षा चुनौती झेलिरहनु पनि यसको कारण हो ।
भारतले अझैपनि पूर्वात्तर राज्यहरूमा विद्रोही र पृथकतावादीको चुनौती झेलिरहेको छ । ती क्षेत्रहरूमा बेला बेलामा हुने हिंसात्मक गतिविधिका पछाडि शक्तिराष्ट्रहरुको स्वार्थ उत्तिकै देखिन्छ । ‘चिकेन नेक’ वरपरका देशहरूमा हुने कतिपय गतिविधिले पनि भारतलाई सशंकित बनाउने गर्छ । बंगलादेशको घटनालाई भारतले गम्भीर मानेको घटनाक्रमले देखाउँछ ।
बंगलादेशबाट शेख हसिना देश छाडेर भाग्नुपर्ने अवस्था सामान्य घटना होइन । हाल, भारतमा निर्वासित हसिनालाई मोहम्मद युनुसले सुपुर्दुगीको आग्रह गर्दै आएका छन् । तर, बंगलादेशको जन्माउने नेता शेख मुजिबर रहमानकी छोरी हसिनालाई भारतले सुपुर्दगी गर्ने त परै जाओस् पुनः शक्तिमा ल्याउने प्रयास गर्ने देखिइसकेको छ ।
भारतले बंगलादेशको अहिलेको सरकारमाथि कडाइ गरिसकेको छ । बङ्गलादेशमा भारतीय लगानी फर्काइएको छ । आयात निर्यातमा कडाइ गरिएको छ । भारतले यति धेरै दबाब बढाएको छ कि बंगलादेश निकै ठूलो संकटको दलदलमा परिसकेको छ । तैपनि, युनुस नेपाल र भुटानबाट विद्युत निर्यात गरेर चीनको लगानी ओइराउने सपना बाँडिरहेका छन् । जबकि, भारतको साथ र सहमति विना विद्युत नेपाल र भुटानबाट लान असम्भव छ ।
चीन पुगेर युनुसले भारतको उत्तरपूर्वी राज्यलाई भूपरिवेष्टित भन्दै समुन्द्रसँग जोडिन बङ्गलादेशसँग निर्भर हुनुपर्ने अभिव्यक्ति दिए । उनले ‘चिकेन नेक’ वरपरका क्षेत्रमा चिनियाँ लगानी बढाउने विषय बोले । यतिसम्मकी चिकेन नेक नजिकै चीनको सहयोगमा बेलायतको उपनिवेशकालिन लालमोनिरहट विमानस्थल ब्युँताउन खोजे । यसप्रति भारत गम्भीर बनेको छ । युनुसको कदमहरू भारतको सुरक्षा खतरा बढाउने खालको रहेको विश्लेषणहरू भइरहेका छन् अहिले ।
ग्रामीण बैंकको सफलताबाट चर्चित बन्दै नोबल शान्ति पुरस्कार विजेता बनेका युनुस हसिनाले देश छाडेर भागेपछि बंगलादेशका अन्तरिम सरकारका प्रमुख बन्ने मौका पाए । बंगलादेशमा विद्यार्थी आन्दोलन चलिरहँदा उनी यूरोपमा बसेर माहौल तताइरहेका थिए ।
उनको बंगलादेशको सरकारको नेतृत्वमा पुग्नुका पछाडि ठूलै शक्तिको साथ र सहयोग लुकेको छैन । बंगलादेशको विद्रोहमा हिन्दू अल्पसंख्यक आक्रमणको सिकार भए । त्यो क्रम अहिले पनि चलिरहेको छ । शान्ति पुरस्कार पाएका युनुस सरकारको पालामा सबैभन्दा बढी दमनको सिकार बने हिन्दू समुदाय ।
दक्षिण एसियामा अशान्ति मच्चाउने अभिव्यक्ति दिइरहेका छन् उनी । उनको कदम पनि त्यस्तै छ । यसकारण युनुस अहिले बँगालदेशभित्र मात्र नभई दक्षिण एसियामै अशान्ति मच्चाउने कारक बन्न थालेको देखिँदै छ ।
युनुस अहिले दक्षिण एसियामा पश्चिमा र चीनको उपस्थिति बढाउन सक्रिय भएका छन् । यसले भारत चिढिएको छ । उनको कदम बंगलादेशको जन्म गराउन मुख्य भूमिका खेल्ने भारतलाई चिढ्याउने खालको छ । बँगाली भाषाका आधारमा बनेको बंगलादेशलाई इस्लाम राष्ट्र घोषणा गर्न संविधानमा संशोधन गराउन कदम चाल्दैछन् । उनी कट्टरपन्थी इस्लमिक सङ्गठनहरूलाई मलजल दिँदै छन् ।
कुनै बेला दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरेको बंगलादेश आर्थिक संकटमा पर्दै गएको छ । उत्पादनहरू घट्न थालेका छन् । गार्मेन्ट उद्योगहरू धमाधम बन्द हुँदा रोजगारीको अवसर घट्दो छन् । बेरोजगारी बढेर बङ्गलादेशीहरू थालथलो छाडेर पलायन हुने क्रम बढेको छ । लोडसेडिङ बढेको छ । सस्तो लोकप्रियताको नारा र अभिव्यक्ति दिएर युनुसले बंगलादेशी जनतालाई अन्धकारमा पारेका छन् ।
एकातर्फ, ‘चिकेन नेक’ वरपरका देशमा संकट गहिरिँदो छ । अर्कोतर्फ, दक्षिण एसियाको इस्लामिक राष्ट्र पाकिस्तान आन्तरिक समस्यामा फस्दै गएको छ । बलुचिस्तानका पृथकतावादी सक्रिय भएका छन् । उनीहरूले डरलाग्दा आक्रमण गरिरहेका छन् । बलुचिस्तानलाई अलग देश बनाउने गतिविधि चर्किएको छ । ठिक यही बेलामा पहलगाम हमलाको बदलामा भारतले पाकिस्तानमाथि हमला गर्याे ।
आतंकवादीलाई प्रश्रय दिएको सबुद भारतले आक्रमणमार्फत विश्वलाई दिन सक्यो । मिसाइल हानाहानको अवस्था चार दिन बनेपछि युद्धविराम त भयो तर, आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानबिचको मनमुटाब झन् बढ्यो । भारतलाई इजरायलको खुलेर समर्थन भयो भने पाकिस्तानलाई इस्लामिक देशहरू टर्की र अजरबैजानले खुलेर समर्थन गरे ।
इस्लाम देशहरू भित्र भित्र पाकिस्तानको पक्षमा उभिए । चीन पनि पाकिस्तानलाई भित्रभित्र साथ दिन पुग्यो । अमेरिका युद्धविराम गराउन सक्रिय भयो । अमेरिका र बेलायतको स्वार्थमा विगतमा अलकायदालगायत आतंकवादी संगठनलाई साथ दिनु भुल थियो भने पाकिस्तानी रक्षामन्त्रीले ।
पाकिस्तानमा चीन, टर्की जस्ता देशहरूको सैन्य तहमा सम्बन्ध बढेको यसबाट झन् खुल्यो । पाकिस्तान चीन र टर्कीको हतियारको ठूलो बजार बनिसकेको स्पष्ट भयो । यसरी पाकिस्तानमा विगतमा अमेरिका र बेलायतको प्रभाव बढी रहेकोमा चीन र टर्की जस्ता देशहरू पनि प्रभाव बनाउन पुगे ।
दक्षिण एसियामा विकसित घटनाले दक्षिण एसिया शक्तिशाली देशहरूको युद्धभूमिमा परिणत हुनसक्ने खतरा बढेको छ । त्यस्तो युद्धको केन्द्र भारत र पाकिस्तानबिचको सीमा क्षेत्र मात्र नभई भारत र बंगलादेशबीचको सीमा क्षेत्र पनि बन्ने खतरा छ । यसमा बाह्य भूमिका पनि दृश्य अदृश्य देखिन्छन् । ‘चिकेन नेक’ वरपरका क्षेत्र अशान्त बनेमा नेपालले पनि ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।
‘चिकेन नेक’ नजिकको नेपालको पूर्वी भागहरूमा विदेशी चासो र लगानी बढ्दो छ । विभिन्न माध्यमले परियोजनाहरू लगिएका छन् । त्यस्ता परियोजनाहरू चीन, अमेरिका, यूरोपलगायत बलिया देशहरूको आर्थिक सहयोगमा चलेका छन् । भारतको पनि चासो उत्तिकै छ । पूवी नेपालमा पुगेका कतिपय विकाससम्बन्धी परियोजनाहरू सामान्य विषय होइनन् । कतिपयको उद्देश्य रणनीतिक स्वार्थ पूरा गर्ने खालको छ ।
‘चिकेन नेक’ नजिकैका क्षेत्रहरूमा जातीय द्वन्द्व मच्चाउन ठूलै शक्ति सक्रिय छ । उक्त क्षेत्रमा विकासका कतिपय लगानीहरूलाई रोक्न खोजिएको छ । धर्मान्तरण पनि त्यही क्षेत्रमा बढ्दो छ । दक्षिण एसियामा चिकेन नेक र त्यस वरपरका संवेदनशील क्षेत्र युद्धभूमिमा परिणत गर्ने खेलहरू चलिरहेका छन् ।
रणनीतिक योजनाका लागि आएका परियोजनाहरू त्यही थुप्रिएका छन् । त्यस क्षेत्रमा यसरी नै गतिविधि बढ्दै जाने हो भने द्वन्द्व चरम चुलीमा पुग्न सक्छ । बंगलादेश र यस वरपरका देशभित्र खेलिरहेका अन्य देशहरूको रणनीतिक योजनामा फसेमा दक्षिण एसिया ठूलो युद्धको भूमरिमा फस्न सक्छ । चिकेन नेक र त्यस वरपरका क्षेत्र द्वन्द्वको अखडा बनेमा नेपालले पनि ठूलै समस्या भोग्नुपर्ने खतरा आउन सक्छ ।