Logo
Logo

भित्रभित्रै के खेल हुँदैछ ?


डा. दीपेश केसी

9k
Shares

तत्कालीन राजा ज्ञानेन्द्र शाहले गिरिजाप्रसाद कोइरालाको ‘बेबि किङ’को प्रस्ताव मानिदिएको भए राजसंस्था अन्त हुने थिएन भनेर तर्क गर्नेहरू नभएका होइनन् । पूर्व नवयुवराज हृदयन्द्र अमेरिका अध्ययन गरी फर्कंदा सामाजिक सञ्जालमा तामझाम नै मच्चाइयो यसपटक ।

जगमान गुरुङले हृदयन्द्रलाई ज्ञानेन्द्रको पछि लगाएर नारायणहिटी संग्राहालय लगेको दृश्यबाट गम्भीर सन्देश दिन खोजेका छन् । योभन्दा ठिक अघि राजा नभए देश भारतले आफ्नो कब्जामा पार्छ भन्ने अभिव्यक्ति नेपाली सेनाका पूर्वप्रधानसेनापति प्रज्ववल शमशेर जबराले नै बोले ।

सेनाका कतिपय पूर्व जर्नेलहरू ज्ञानेन्द्र शाह राजाका रूपमा नारायणहिटीमा फर्काइहाल्नुप¥यो जसरी बोलिरहेछन् । यी सबै घटनालाई हल्का रूपमा लिन मिल्दैन । देशको राजनीतिमा भित्रभित्रै केही न केही पाकिरहेको छ । अनेकन षड्यन्त्र चलिरहेछन् । जुन पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि पनि चलिरहन्थ्यो र अहिले पनि चलिरहेको छ ।

रातको अन्धकारमा नेपालमा धेरै षड्यन्त्रका घटनाहरू भएको इतिहास साक्षी छ । भीमसेन थापाले सत्ता हत्याउन मच्चाएको भण्डारखाल पर्व र जङ्गबहादुर राणाले गरेको कोतपर्व रातमा भएका थिए । जेठ १९ २०५८ मा घटेको राजदरबार हत्याकाण्ड पनि रातिकै समयमा घटेको थियो ।

अन्ततः त्यही घटना नेपालको राजसंस्था अन्तको सुरुवाती बिन्दु बन्यो । सत्तारोहरणका लागि रक्तपातपूर्ण हिंसाको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले पनि गरेकै हुन् । कांग्रेसले पनि राजतन्त्रविरुद्ध हिंसा गरेको थियो पछि शान्तिको मार्गमा आयो । कम्युनिस्टहरुले सत्ताको मार्ग प्रशस्त गर्न गरेका हत्याकाण्डका धेरै घटनाहरू इतिहासमा सुरक्षित छन् । यस अर्थमा वर्तमान नेपालको सत्ताको केन्द्रमा रहेका नेता र मुख्य दलहरू हिंसा र रक्तपातबाट अछुतो छैनन् । मात्र कम र बढी हो ।

पूर्वपञ्चहरुले मच्चाएका हत्याकाण्डका धेरै घटना इतिहासमा सप्रमाण लिखित दस्तावेजका रूपमा छन् । उनीहरुको आपसी द्वन्द्वमा कैयन मारिए । पत्रकार पदम ठकुराठीमाथिको गोलीकाण्ड पूर्वपञ्चहरुकै द्वन्द्वको परिणाम थियो । पञ्चहरूले सुनकाण्ड, वनकाण्ड, सर्पकाण्ड, मूर्तिकाण्डलगायत काण्डै काण्ड गरेको लुकेको छैन । गणतन्त्रमा त्यस्ता काण्डहरूले नयाँ र फराकिलो रूप मात्र लिएका हुन् । पात्र फरक भएका छन् प्रवृत्ति फरक भएको छैन ।

निरंकुशताको नयाँ रूप देखिइसकेको छ । लेखेकै आधारमा र बोलेकै आधारमा अदालतमा अवहेलना मुद्दा लगाउने र प्रेस काउन्सिल लगाएर दच्काउने गतिविधि चलेकै छ । फरक यति हो पञ्चहरू ज्यान नै लिन खोज्थे अहिलेका मुख र कलम बन्द गर्ने घुमाउरो धम्की दिन्छन् । पञ्चहरूलाई नै माथ गर्ने गरी सङ्गठित र योजनाबद्ध तरिकाले आक्रमण गर्छन् । उहिले पत्रकारको हत्या गर्थे अहिले पत्रकारिताको हत्या गर्ने दुष्प्रयासमा छन् ।

पञ्चलाई माथ गर्ने गरी गणतन्त्रमा नाङ्गो भ्रष्टाचार चलिरहेको छ । कहिले नसुनेका काण्डहरू छरपस्ट छन् । भुटानी शरणार्थी प्रकरणपछि एयरपोर्टमा भिजिट भीसा प्रकरणले राज्य चलाउनेहरू मानव तस्करका नाइके बनिसकेको तथ्य छर्लङ्ग भयो । अवस्था यस्तो आयो भ्रष्टाचारबाट अघाएर सुन्निएका पञ्चहरू भ्रष्टाचारीको विरोधमा अगाडि उभिएका छन् । देशमा भ्रष्टाचार कहाँसम्म पुगेछ ? गणतन्त्रवादी नेताहरू भ्रष्टाचार गर्ने र विदेशमै घूसको लेनदेन गर्न थाले ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले संसदीय समितिमा यसबारे बोलेकै हुन् । सङ्गठित रूपमा भ्रष्टाचार गर्ने र संरक्षण गर्ने शक्तिका रूपमा राजनीतिक दल रूपान्तरित भइरहेका छन् । पञ्चायतकालमा भूमिगत गिरोहले त्यस्तो कार्य गर्दथ्यो । अहिले राजनीतिक दल नै यसमा लागेको छ । काँग्रेस, एमाले, माओवादी तीनैवटा दल सङ्गठित रूपमा भ्रष्टाचारमा डुब्दै गएका छन् ।

भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाण भ्रष्टाचारमा जेल नै गए । माओवादी त प्रचण्ड नामको हेडक्वार्टरबाट चलेको छ । अयोग्य लडाकुको रकम हिनामिनामा माओवादी हेडक्वार्टरमाथि नै आरोप छ । पञ्चायतको भूमिगत गिरोहहरूले गर्ने काण्ड गणतन्त्र नेपालमा आइपुग्दा दलका दलालहरूबाट खुलेआम हुन थाल्यो । यो हदसम्मको बदनामी कमाएका दल र तिनका शीर्ष नेताहरूप्रति जनआक्रोश बढ्ने नै भयो ।

यो आक्रोशमा अवसर खोज्ने क्रममा रवि लामिछानेको उदय भयो । बालेन शाह, हर्क साम्पाङ र गोपी हमालहरू लोकप्रिय बन्न सके । पञ्चहरू पूर्वराजा बोकेर शक्ति फर्काउने उपयुक्त अवसर खोजेर सक्रिय हुने रणनीतिमा लागे । यसमा कहिले ओलीभक्त त कहिले प्रचण्डभक्त बनेर पछिल्लो समय ज्ञानेन्द्रभक्त बनेका दुर्गा प्रसाईँ पनि जोडिए । उनीहरू दलहरूले गरेको हिन्दूराष्ट्र संविधानबाट मेट्ने गल्ती बुझेर यही मुद्दा पनि देखाएर बढिरहेका छन् अहिले ।

८१ प्रतिशत हिन्दू समेत जोडेर कुल ९४ प्रतिशत सनातनीहरु रहेको नेपालमा हिन्दूराष्ट्र संविधानमा पुनः लेखनमा दलहरू बाध्य हुने परिस्थिति बन्दै गइसकेको छ । कम्युनिस्ट, काँग्रेस, माओवादी या राप्रपा जे भएपनि ती दलमा बहुसंख्यक कार्यकर्ता हिन्दू र बौद्ध धर्मावलम्बी नै हुन् । धर्मको विषयमा उनीहरू ढिलो चाँडो लचिलो हुनुको विकल्प छैन ।

गणतन्त्रको आन्दोलनबाट उदाएर स्थापित बनेका काँग्रेस महामन्त्री गगन थापाको निधारमा टीका र पूजाको भिडियो बढी देखिनथालेको त्यसै होइन । देशको धर्म हुन्छ भन्छन् गगन । आरजु देउवाको धार्मिक गतिविधि बढ्नुको सन्देश छ ।

खड्गप्रसाद ओली हुन् या पुष्पकमल दाहाललाई नेपालको राजनीतिमा टिक्न हिन्दूलाई चिढ्याएर सम्भव छैन । प्रचण्ड दिनबन्धु पोखरेलसँग धार्मिक कार्यक्रममा पुग्नु अर्थपूर्ण छ । प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा उनले उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजा गरेका थिए । स्वदेश फर्किएर पशुपतिनाथको दर्शन गरे । पीएचडी गरेका बाबुराम भट्टराईले समेत हिन्दूलाई चिढ्याएर नेपालको राजनीतिमा टिकिन्न भन्ने यथार्थ बुझेकै छन् ।

उनको पनि बोली निकै फेरिएको छ अहिले । हिन्दूको उर्वर क्षेत्र तराई मधेशको राजनीतिमा सदावहार बन्न धर्मनिरपेक्ष बनेर सम्भव छैन भन्ने उपेन्द्र यादव पनि जानकार नै होलान् । उनको दलमा हिन्दूवादीको उल्लेख्य संख्या छँदैछ । महन्थ ठाकुर त गेहरु वस्त्रमै बढी भेटिन्छन् । हिन्दूराष्ट्र ढिलोचाँडो स्वीकारेपनि काँग्रेस, एमाले, माओवादी, मधेशवादी कसैले पनि राजसंस्थालाई बोक्ने अवस्था देखिँदैन ।

नवराज सुवेदीको नेतृत्वमा गोलबन्द भएर आन्दोलन गर्दैमा पूर्वपञ्चहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा ल्याउन सकिँदैन भन्ने पक्कै बुझेका होलान् । उनीहरू मुख्य दलहरूमाथि दबाब बढाउन खोजिरहेका छन् । त्यसमाथि काँग्रेसमाथि विशेष दबाब बढाउने प्रयास हुनसक्छ ।

वीपीको राजासंँग घाँटी जोडिएको अभिव्यक्तिलाई पूर्वपञ्चहरुले चर्चामा ल्याइरहन्छन् । रोचक त यो छ कि पञ्चहरूको उक्साहटमा नै वीपीलाई तत्कालीन राजा महेन्द्रले जेल हालेका थिए । राजनीतिको सतरञ्जमा यस्ता खेलहरू चलिरहन्छन् । तर, यो परिवेश र तयारीमा पूर्वपञ्चहरुले राजा फर्काउने बलियो आधार तयार गर्न सकेको देखिँदैन ।

पहिलो राजा फर्काउन खोज्नेहरु परीक्षण भइसकेकाहरु छन् । पञ्चायतकाल देखि सुखसुविधा भोगेकाहरू राजनीति गरेर जेल जाने आँट गर्दैनन् भन्ने देखिइसकेको छ । पछिल्लो समयमा राजावादी बनेका रवीन्द्र मिश्रसमेत जेल बसाइँबाट छटपटिए । बोल्न आँट गर्ने स्वागत नेपाल र ज्ञानेन्द्र शाहीहरूलाई पञ्चहरूले पूर्ण रूपमा स्वीकारेको देखिएन । पुस्तैनी पञ्च बनेको मापदण्ड त्यहाँ पनि चल्छ । नयाँ अनुहारलाई स्विकार्न नसक्ने पञ्चहरूले जगमान गुरुङलाई समेत पूर्ण विश्वास गरेको देखिएन । बलियो संगठन भएका मुख्य दलहरूमा त राजा फर्काउने पक्षधर खासै देखिएनन् ।

दोस्रो पञ्चहरूको दुरदराजको गाउँसम्म नयाँ पीढींमा नयाँ सञ्जाल बनेको छैन । उनीहरू भूतपूर्वहरूकै भरमा छन् । उमेर काटिसकेका रिटायर्डहरु जोखिम मोल्न तयार हुँदैनन् । स्कुल र कलेज तहमा नयाँ पुस्तामा संगठन तयार छैन । विद्यार्थी युनियनको चुनावमा राजावादीको सहभागिता र नतिजाले पनि भावी पुस्तामा उनीहरूको पकड कति कमजोर छ बुझ्न सकिन्छ । केवल सामाजिक सञ्जालको सस्तो हल्लाले माहौल तयार गर्दैन जमिनमा जे छ त्यो नै वास्तविकता हो ।

तेस्रो राजावादीले हिन्दूवादीले तयार गरेको आधारमा टेकेर आफ्नो मुद्दा उचाल्न खोजे । हिन्दूराष्ट्र अभियान देखि हिन्दुत्वको सिद्धान्तमा टेकेर अहोरात्र खटिएकाहरुले बनाएको माहोललाई राजावादीले आफ्नो जसरी प्रस्तुत गर्न खोजे । उनीहरूले यो बुझेनन् कि देश पछि मात्र कुनै व्यक्ति हो, सिद्धान्त पछि मात्र कुनै व्यक्ति या संस्था हो । हिन्दुत्व र राजा फरक हो ।

हिन्दूराष्ट्र र राजसंस्था पनि फरक हो । पृथ्वीनारायण शाहले असली हिन्दु विचारमा टेकेर नेपाली एकीकरण गरेका थिए । विना विचार कोही नेता हुँदैन । राजावादीले पहिले राजा या राजसंस्था भनेर मात्र हिन्दूराष्ट्र भनिरहे । उनीहरूका लागि राजा नै देश र देश नै राजा या देशभन्दा पहिले राजा, हिन्दु विचारभन्दा पहिले राजा । यसमा राजावादी चुके । हिन्दूराष्ट्र संविधानमा लेखिएमा राजा कहिल्यै फर्कने छैनन् भन्ने भय पनि राजावादीमा देखिएको छ ।

चौथो अन्तर्राष्ट्रिय परिस्थिति । नेपालको राजनीतिमा निकै चासो राख्ने भारतमा हिन्दूवादी दल भाजपा सत्तामा छ । नेपाल हिन्दूराष्ट्र रहिरहेको हेर्ने चाहना भाजपा नेताहरूमा हुनु स्वाभाविक हो । तर, उनीहरू राजा या राजसंस्थाको विषयमा सकारात्मक देखिएका छैनन् । यसै पनि राजावादीहरू राजा नफर्किए भारतले नेपाल लिन्छ भन्दै हिँडेका छन् । राजा फर्काउन नसघाएको रिसमा उनीहरू भारत विरोधी बनिरहेको घटना पनि धेरै छ । पूर्वराजा शाहले साथ पाउन दौडधुप गरेको विषय पनि चर्चामा आइरह्यो । परिस्थिति उनको अनुकूल भने बन्न सकेन । पश्चिमाहरू धर्मनिरपेक्षको बचाऊमा लाग्ने नै भए । चीन जो शक्तिमा छ उसैससँगै जोडिएर आफ्नो उद्देश्य पूरा गर्दै आएको छ नेपाल मामलामा ।

अब रह्यो देशमा कस्तो परिवर्तन होला ? संविधान अपरिवर्तनीय भने हुँदैन । राजनीतिमा असम्भव भन्ने केही छैन । तर, यथास्थितिमा राजा ज्ञानेन्द्र शाह गद्दीमा फर्कने सम्भावना देखिँदैन । बरु दलहरुले ८१ प्रतिशत हिन्दूको भावना अनुसार हिन्दूराष्ट्रको सम्बोधन गर्ने बाध्यकारी परिस्थिति निर्माण हुँदै गएको छ । संविधानमा तत्काल धर्मनिरपेक्ष हटाउने या धार्मिक स्वतन्त्रता लेख्ने सम्मको मध्यमार्गी बाटो पनि हुनसक्छ ।

यतिसम्म गर्न पनि कन्जुस्याइँ गरेमा हिन्दूराष्ट्र त ढिलोचाँडो लेखिने नै हो असन्तुष्टिको सुनामीले गणतन्त्रलाई नै बगाइदिन सक्छ । राति षड्यन्त्र भई बिहान सत्ता पल्टिएको धेरै इतिहास पढेका र भोगेका नेपालीहरूले त्यस्तो दिनको सूर्योदय देखे आश्चर्य नमाने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्