Logo
Logo

ओलीमाथि अविश्वास प्रस्ताव


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० साउन । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक बजारमा आएको छ । उक्त पुस्तकमा २०६५ देखि २०७५ सालसम्म संविधानसभा र संसद्मा प्रचण्डले व्यक्त गरेका विचार÷भाषण समेटिएको छ ।

उक्त पुस्तकमा आफैँले प्रधानमन्त्रीमा प्रस्ताव गरेका केपी शर्मा ओलीविरुद्ध आफैँले अविश्वास प्रस्ताव राख्नु पर्दाको पीडा पोखेका छन् । त्यसयता वाग्मतीमा धेरै पानी बगिसकेको छ । नेपालका राजनीतिमा पनि धेरै उचारचढाव आएको छ । त्यतिबेला ओली अल्पमतमा थिए । अहिले दुईतिहाइको सरकारमा छन् । त्यतिबेला पनि ओलीको प्रस्तावक प्रचण्ड नै थिए, अहिले पनि ओलीका प्रस्तावक प्रचण्ड नै हुन् । तर, प्रचण्डको किताबको पाना पढ्दा प्रचण्डले ओलीबाट जुन पीडा भोगेका थिए, त्यो भन्दा बढी पीडा अहिले भोगिरहेका छन् । त्यतिबेला प्रचण्डले सरकार ढालेको प्रतिशोध लिने हिसाबले अहिले ओलीले व्यवहार गरेका त होइनन् भन्ने अनुमान प्रचण्डको त्यतिबेलाको अनुभूति र ओलीको अहिलेको व्यवहारबाट झल्किन्छ ।

ओलीमाथि प्रचण्डले अविश्वासको प्रस्ताव ल्याउनुको एउटा कारण ओलीको हठी स्वभाव त हुँदै हो, त्यसमाथि अर्थमन्त्री युवराज खतिवडा पनि अर्को कारण थिए । राष्ट्र बैंकको गभर्नरबाट ‘रिटायर्ड’ भइसकेपछि अदृश्य शक्तिको आडमा ओलीको बुइँ चढेर अर्थमन्त्री भएका खतिवडाले समेत माओवादीलाई टेर्न छाडेपछि एमालेसँगको सहकार्य तोड्ने टुंगोमा तत्कालीन माओवादी पुगेको थियो । अर्थमन्त्री खतिवडाले ओली नेतृत्व सरकार ढाल्न केसम्मको अपराध गरेका थिए भन्ने कुरा उक्त पुस्तकको पाना नं. २७५ मा उल्लेख गरिएको छ ।

प्रचण्डले उक्त पुस्तकमा भनेका छन्– ‘अर्थमन्त्रीले अस्ति सही, आज गलत किन भने ? सरकारमा हुँदा सयका सय कुरा मिलेको हुँदैन । तर पनि बजेटमा हाम्रा धेरै गुनासा थिए । बजेटमा हामीले धेरै कुरा औंल्याएका थियौं । तर संयुक्त सरकार भएर पनि अर्थमन्त्रीले हाम्रो कुरा सुन्नै चाहेनन् ।’

प्रचण्डले त्यतिबेला सदनमा भनेजस्तै अहिले पनि ओलीको दुईतिहाइको सरकार ढाल्न अर्थमन्त्री खतिवडाले संसद्बाट पास नै नभएको ‘एमसीसी’लाई बजेटमा हालेका छन् । त्यसले एमसीसीका कारण पार्टीभित्र ठूलो विवाद उत्पन्न भएको छ । संसद्ले पास नै नगरेको कुरा अर्थमन्त्री खतिवडाले बजेटमा समावेश गर्नु भनेको नेकपा फोड्ने उद्देश्य हो भनेर बुझ्नुपर्ने कतिपयको भनाइ छ । नामले कम्युनिष्ट पार्टी भए पनि खतिवडा जस्ताको प्रवेशले नेकपा साम्राज्यवादीहरुको चंगुलमा फसिसकेको छ । यो कुरा प्रधानमन्त्री ओलीले नबुझेका होइनन् । तर, उनी बिखलबन्दमा छन् ।

प्रतिक्रिया दिनुहोस्