Logo
Logo

नेकपामा गाईजात्रा


- शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, तुलसीलालदेखि जति पनि दिवंगत नेताहरु छन्, तिनीहरुको नाममा प्रतिष्ठान खोलिएको छ । ती प्रतिष्ठानहरुले हरेक वर्ष नेताहरुको सम्झनामा स्मृतिसभा आयोजना गर्दै आएका छन् । त्यस्ता स्मृतिसभाहरुमा ती नेताहरुले राष्ट्र, जनताका लागि गरेका योगदानको चर्चा गर्नुपर्ने हो । हरेक दिवंगत नेताहरुको कम्युनिष्ट आन्दोलनमा आ–आफ्नै योगदान छ । अहिले दुईतिहाइको नेपाल कम्युनिष्ट पार्टीको वैचारिक र सांगठनिक जग भनेकै ती नेताहरुको योगदान हो । तर, पछिल्लो समय दिवंगत नेताहरुको स्मृतिसभामा नेताहरुबीच आरोप–प्रत्यारोप चल्न थालेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा नेताहरुले पु¥याएको योगदान र बलिदानको चर्चा हुन छाडेको छ । यस्तो कुरा सुन्दा जो कोहीलाई पनि नरमाइलो लाग्नु स्वाभाविकै हो । तर, पनि आफूलाई सुधार्न नसक्ने नेताहरुको बानीका कारण स्मृतिसभा जस्तो संवेदनशील सभाहरु विरोधसभामा रुपान्तरण हुन थालेको छ । पार्टीभित्र हुनुपर्ने वैचारिक बहस र अन्तरविरोधहरु स्मृतिसभामा पोखिन थालेको छ ।

शम्भु श्रेष्ठ

असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती थियो । मदन भण्डारी फाउण्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा स्मृतिसभाको कार्यक्रम आयोजना ग¥यो । त्यस सभाका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए । ओलीले मदन भण्डारीको योगदानको चर्चा कम, आफूविरोधी नेताहरुको आलोचना बढी गरे । ओलीले आफूलाई भारतीय एजेन्टहरुले हटाउन खोजेको कुरा उठाए । लिम्पियाधुरासम्मको नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया र काठमाडौंस्थित भारतीय दूतावासका कर्मचारीहरु होटल, होटलमा भेला भएर सरकारको विरुद्ध उत्रिएको बताए । प्रधानमन्त्री ओलीको यो भनाइ अप्रत्यक्षरुपमा आफ्नो राजीनामा माग्ने आफ्नै पार्टीका नेताहरुप्रति लक्षित थियो ।

त्यसैगरी साउन ७ गते पुष्पलालको ४२ औँ स्मृति दिवस थियो । पुष्पलाल प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ नेता माधवकुमार नेपालले त्यस दिन एउटा विज्ञप्ति प्रकाशित गरेर अहिलेको परिस्थितिमा अरुको अस्तित्व अस्वीकार गर्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा हाबी भएकोले त्यस्तो प्रवृत्तिको विरोध गर्नुपर्ने बताए । नेपालले भने– ‘म नै सर्वेसर्वा हुँ । म नभए केही पनि चल्दैन भन्ने भावनाले कम्युनिष्ट आन्दोलन थिलथिलो भएको बताए । कम्युनिष्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’ र ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्वमा चल्ने संस्था हो । वरिष्ठ नेता नेपालको यो भनाइ प्रधानमन्त्री ओलीप्रति लक्षित थियो ।

साउन १७ गते तुलसीलाल अमात्यको २३ औँ स्मृतिसभा आयोजना गरियो । सो अवसरमा प्रमुख अतिथिको तर्फबाट बोल्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता क्रममै आफूले राष्ट्रका लागि पद त्याग गरेकोले अहिले नेकपाभित्रको विवाद पदका लागि हो भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्ने बताए । प्रचण्डले भने– ‘पार्टीलाई विचार र विधिबाट चलाउनुपर्छ भनेर आवाज उठाउँदा पदका लागि आफ्नो राजीनामा मागियो भनेर जुन प्रचार गरियो, त्यो भ्रम हो । पदका लागि विवाद गरिएको भए पाँचै वर्ष ओलीलाई प्रधानमन्त्री पद सुम्पने थिइनँ । तर, त्यसैलाई कमजोरी ठानेर प्रधानमन्त्रीका लागि प्रचण्डले रडाको मच्चाएको हल्ला पिटाइयो । त्यो सत्य होइन । पार्टी एकतालाई जसरी पनि जोगाउनुपर्छ । प्रचण्डको यो भनाइ पनि प्रधानमन्त्री ओलीतिरै लक्षित छ ।

दुईतिहाइ मत पाएको नेकपा र त्यसका प्रधानमन्त्री ओली आफ्नै कारणले रक्षात्मक स्थितिमा पुगेका छन् । लेनिनवादी संगठन प्रणालीमा पार्टी प्रणाली मुख्य कुरा हो । तर, ओली यो कुराबाट टाढिदै गएपछि समस्या देखिएको हो । ओलीको यस्तै रवैया हुने हो भने पार्टी अरु थप संकटमा पर्दै जान्छ । नेकपा माओवादीसँग पार्टी एकता गर्दा जे जति सहमति भएका थिए, त्यसमा टेकेर अगाडि नबढ्ने हो भने एकताले पूर्णता पाउँदैन । पार्टी एकता भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि एकीकरणका बाँकी काम अधुरै छ । मंसिर ४ गते ओली र प्रचण्डबीच भएको सहमतिअनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिनुपर्ने हो । तर, भएका सम्झौतालाई ओलीले ‘कपाली तमसुक’ बनाएर राख्दा समस्या उत्पन्न भएको छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको जोड पार्टी एकतालाई इमान्दारका साथ अगाडि बढाऔं भन्ने देखिन्छ । वरिष्ठ नेता माधव नेपालको अडान पार्टीलाई विधि, पद्धतिसम्मत ढंगले अगाडि बढाऔं भन्ने देखिन्छ तर, दुर्भाग्य, दिवंगत नेताहरुको स्मृतिसभामा नेकपाका नेताहरुले ‘गाँड कोराकोर’ गरेर गाईजात्रा देखाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्