Logo
Logo

भैँसेपाटी पुगेर के भने ओलीले ?


- दृष्टि न्युज/संवाददाता


नेकपाका उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे सूत्रले नेकपाभित्र हलचल मच्चिएको छ । बिहान ६ बुँदे जारी गर्ने, त्यसै बेलुका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गौतम निवास भैंसेपाटी पुग्ने । यो संयोग मात्र होइन, गौतम गुल्ट्याउने खेल हो । त्यसो त वामदेवले उनीसँग भेट्न जाने नेताहरुलाई भन्ने गरेका छन्– ‘केपी कमरेडले पार्टी पनि बर्बाद बनाउनुभयो, सरकार पनि प्रभावकारी ढंगले चलाउन सक्नु भएन । त्यसैले दुवै पदबाट उहाँले राजीनामा दिनुपर्छ भनेर भन्ने मै हुँ ।’ तर, म त्यो कुराबाट पछि नहट्ने हो भने पार्टी नै फुट्ने हो कि भन्ने मलाई लाग्यो र मैले ‘लात खाए पनि खाऔंला, बात खाए पनि खाऔंला, एउटा कुर्चीको लागि पार्टी फुटाउन दिन्न’ भनेरै छ बुँदे प्रस्ताव अगाडि ल्याएको बताएका छन् ।

हक्की स्वभावका गौतमले ओलीबाट धेरै धोका खाएका छन् । पार्टीभित्र ओली र गौतमको ग्रह कहिले पनि मिलेन । त्यसैले गौतमले जहिले पनि ओलीलाई शंकाको दृष्टिले हेर्ने गरेका छन् । यदि प्रधानमन्त्री ओली गौतमप्रति इमान्दार थिए भने नवौं महाधिवेशनमा गरेका सहमति पालना गर्थे । त्यति मात्र होइन, सचिवालयले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय कार्यान्वयन गर्थे । तर, सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउन गरेको निर्णय मान्दिनँ भनेर ओलीले भने । त्यति मात्र होइन, संविधान संशोधन गरेर गौतमलाई प्रधानमन्त्री बनाउने ‘गजेडी गफ’ दिए । गौतमले त्यही कुरा पत्याए र प्रचण्ड–ओली मिलाउन ६ बुँदे सहमति अगाडि सारे । त्यो ६ बुँदामा पनि पाँचै वर्ष ओली प्रधानमन्त्री बन्ने बुँदाका लागि मात्र ओली धन्यवाद दिन भैंसेपाटी पुगेका हुन् । बाँकी बुँदामा ओलीले मंगलबार बेलुकी नै असहमति जनाइसकेका छन् ।

गौतमले जारी गरेको बुँदा नं. २ मा कार्यकारी अध्यक्षको सम्पूर्ण जिम्मा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने उल्लेख छ । जुन कुरामा ओलीले असहमति जनाएका छन् । गत मंगलबार बेलुकी भैंसेपाटी पुगेका ओलीले ‘अरु सब बुँदा ठिक छ, प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकार दिने कुरा काटौं’ भने । तर, गौतमले कड्किँदै भने– काट्नु हुन्न । दुवैलाई मिलाएर लैजानु पर्छ भनेर यो बुँदा ल्याएको हो, त्यसपछि ओली चुप लागे । अहिले मात्र होइन, पहिलेदेखि नै गौतमले ओलीलाई हप्काउँदै आएका छन् ।

नेकपाभित्र ओली र प्रचण्डबीच खासै समस्या छैन । तर, ‘बिचौलिया’हरुले ओली–प्रचण्डलाई मिल्न नदिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्दैछन् । ओली र प्रचण्ड मिल्यो भने आफ्नो राजनीतिक भविष्य नै समाप्त हुने डर कतिपय नेताहरुको रहेको छ । जसका कारण पार्टी फोड्नेसम्मको रणनीति बालुवाटारले गरिरहेको छ । हिजो वामदेव गौतमलाई महान् राष्ट्रवादी नेता बनाएर जसले एमाले फोडेको थियो, त्यही शक्ति अहिले ओलीलाई महान् राष्ट्रवादी बनाएर नेकपा फोड्न उद्यत छ । यो कुरामा गौतम चनाखो छन् र उनले ओली गुटको भित्री रणनीति बुझेका छन् । त्यसैले उनले ओली–प्रचण्डबीच संवादहीनता तोड्न ६ बुँदे क्षेप्यास्त्र प्रहार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्