काठमाडौं । गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरको नेपाल क्यान्सर अस्पतालमा आज रसिकको निधन भएको हो । रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिनेछ । अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।

७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । उपचारकै क्रममा भारत समेत गएका थिए । क्यान्सर अन्तिम स्टेजमा पुगेको भन्दै डक्टरले उनलाई फिर्ता गरेको थियो । तर, नेपाल आएपछि उनको स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै गरेको बताउने गरेका थिए ।
भोजपुरमा जन्मिएका रसिकले नेपाली गीत, सङ्गीत, साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । रसिकका क्षितिजलाई ‘छुन खोज्दा’ (कथासंग्रह २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (कथासंग्रह २०२७), ‘रसिकका गीतहरु’ (गीतसंग्रह २०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ (संस्मरण २०५५), ‘बिलाउँदै गएका गीत’ (कथासङ्ग्रह २०५८), ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास २०६३), ‘स्वाधिनताको पीडा’ (गीतसङ्ग्रह २०६८) , ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७३) लगायत प्रकाशित छन् ।
उनले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२–२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारीहरू निर्वाह समेत गरेका छन् ।














