Logo
Logo

प्रधानन्यायाधीशको नाम बेच्दै खाँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० साउन । न्यायालय यतिबेला विवादमा छ । न्यायालयको विवादित फैसलाविरुद्ध नागरिकहरु सडकमा उत्रिएका छन् । न्यायालयमाथि नागरिकको अविश्वास यो तहमा विगतमा विरलै प्रकट भएको थियो । अदालतविरुद्ध जनता सडकमा आउनुलाई न्यायप्रणालीमा गम्भीर संकट मानिन्छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको फैसलाले यस्तो अवस्था आएको हो । श्रीमती हत्याका आरोपी सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको कैद सजाय कटौती गर्ने सर्वाेच्च अदालतको फैसलापछि नागरिक समाजमा आक्रोश बढेको हो । हुन त प्रधानन्यायाधीश राणाका धेरै निर्णय विवादमा परेकोले उनलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउनु हुँदैन भनेर न्याय परिषद्मा कुरा उठ्यो । उनीमाथि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले कारवाही गर्नुपर्ने कुरा उठाए । श्रेष्ठ निवर्तमान भएपछि पनि सर्वोच्च अदालतका न्यायाधीश बनाउनु हुन्न भनेर संसदीय सुनुवाइमा कुरा उठ्यो । तत्कालीन एमाले र माओवादीका सांसदहरुले उनको विपक्षमा मतदान गरे । तर, एमाले र माओवादी पार्टी एक भएपछि तिनै राणालाई प्रधानन्यायाधीश बनाए ।

राणा प्रधानन्यायाधीश भएपछि अदालतविरुद्ध जनता सडकमा आउनुका पछाडि प्रधानन्यायाधीशको गतिविधि प्रमुख कारण रहेको स्रोत बताउँछ । खासगरी उनकै भाई प्रभु शमशेर जबराको गतिविधिले पनि न्यायलयप्रति जनताको विश्वास घटेको छ । मुद्दा जिताइदिने भन्दै उनले पैसाको डिल गरेको अडियो नै अहिले अधिवक्ताहरुबीच शेयर भइरहेको छ । बिहान–बिहान सधैैं प्रधान्यायाधीशको निवासमा हुने र दिउँसो उनी बानेश्वरस्थित आफ्नै कम्प्लेक्समा बसेर यस्तो डिल गर्ने गरेको स्रोत बताउँछ ।

पछिल्लो समय उनी मुद्दा परेका घर जग्गाहरु सस्तोमा किन्ने र महंगोमा बेच्ने खेलमा लागेका छन् । हालै उनले सात करोडमा ठमेलमा एक घर किनेका छन् । सात करोडमा उनले घर किनेको भए पनि कर छल्न साढे चार करोडमा पास गरेका छन् । ठमेलको उक्त घर मुद्दा परेको घर भएकाले उनले मुद्दा मिलाएर बेच्नै भन्दै खरिद गरेका हुन् । उच्च अदालतका एक न्यायाधीशले नै मुद्दा हाल्नेहरुलाई धम्क्याएको स्रोत बताउँछ । पछिल्लो पटक मुद्दासँगै विवादित जग्गा घर किन्ने चलन बढ्दै गएको छ । प्रभुशम्शेरको सम्पत्तिको स्रोत नै ‘कालोधन’ भएको बताइन्छ । यसमा सम्पत्ति शुद्धीकरण विभागले छानबिन ग¥यो भने पनि कालोधनका विषयमा स्पष्ट हुन्छ ।

विवादास्पद घर जग्गा खरिद गर्ने र अदालतमा मुद्दा मिलाएर बेच्ने गिरोह नै काठमाडौंमा सक्रिय रहेको स्रोत बताउँछ । यस्तो गिरोहमा केही भू–माफियाहरु समेत छन् । प्रधानन्यायधीश राणाको नाम बेचेर उनीहरुले यस्तो काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्