Logo
Logo

अर्थमन्त्रीको नाम बेच्दै नापीमा रजगज


31.6k
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतका एक प्रमुख नापी अधिकृत (उपसचिव) ८ बर्षदेखि नापी विभागको योजना शाखामा रजगज गरेर बसेका छन् । नापी अधिकृत भएदेखि नापी विभागमा बसी तर मार्दैआएका प्रमुख नापी अधिकृत हुन् दामोदर ढकाल ।

विभागको योजना शाखाका हालका निर्देशक दामोदर ढकाल नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहमा सर्भेक्षक पदबाट सेवा प्रवेश गरी २०६६ सालमा नापी अधिकृत भएका थिए ।

नापी अधिकृत भएदेखि हालसम्म नापी विभागको योजना शाखा भन्दा बाहिर काम गरेका छैनन् । नापी कार्यालय बुटवलमा सरुवा भए पनि त्यहाँ नगई नापी विभागमा नै काम गर्दै बसे । २०७३ सालमा प्रमुख नापी अधिकृतमा पदोन्नति भएपछि विभागको योजना शाखाको प्रमुख नापी अधिकृतको पदलाई निर्देशकको पदमा पद नाम परिवर्तन गराई २०७३ सालदेखि हालसम्म पूरा ८ बर्ष एउटै पदमा एउटै कोठा एउटै कुर्सीमा बसेर विभाग, विभाग अन्तर्गतका महाशाखाहरु र कार्यालयहरुमा रजगज मच्चाइरहेका छन् ।

विभागको योजना शाखाको निर्देशक पद ओगटेर आफूअनुकूलका कर्मचारीहरुलाई उपत्यकाभित्र र बाहिरका मालदार कार्यालयहरुमा सरुवा गराई सुरुमा एकमुष्ट रुपमा र मासिक रुपमा पैसा असुली गर्ने गर्दछन् ।

बुटवल नापी कार्यालयमा सन्दिप अर्याललाई पठाई ५ वर्ष थमाएर लाखौ रुपैंया असुल गरेका थिए । तत्पश्चात् सन्दिप अर्यालको सरुवापछि नापी अधिकृत कृष्ण आचार्य र सर्भेक्षक सन्तोष गैरेलाई पठाएर लाखौं उठाएर हालसम्म पनि नजराना उठाइरहेका छन् ।

सर्भेक्षक कृष्णप्रसाद पन्थीलाई बुटवल थमौती गराएर माल उठाइरहेकोमा हाल बुटवलबाट भैरहवा सरुवा गराएका छन् । यसरी नै नापी कार्यालय रुपन्देही र उपत्यकाका मालदार कार्यालयहरुमा आफ्ना मान्छे सरुवा गराएर मासिक रुपमा माल उठाइरहेका छन् ।

प्रमुख नापी अधिकृतको दरबन्दी रहेको विशेष नापी कार्यालय दमकमा नापी अधिकृत दिलीप सिंहलाई पठाएर भागशान्ति खाइरहेका छन् । दिलीप सिंहले गरेका गैरकानूनी कार्यहरुको ढाकछोप गर्ने गर्दछन् । आफू र आफ्नो परिवार कांग्रेस भए पनि अर्थमन्त्री विष्णु पौडेलको भान्जी ज्वाइँको नाताले धाक रवाफ देखाएर नापी विभागको हरेक प्रशासनिक, आर्थिक काम कारवाहीमा हस्तक्षेप गर्ने आफ्ना अनुकूलका माल दिने कर्मचारीलाई मालदार अड्डामा सरुवा गराउने, आफ्ना अनुकूलका फर्महरुबाट सामान खरिद गराउने, मूल्यांकन समितिमा बसी आफ्ना अनुकूलका परामर्शदाता छनौट गरी रकम कुम्ल्याउने, नापी विभागलाई पूरै नियन्त्रणमा लिएका छन् ।

नापी विभागको योजना शाखामा बिभिन्न कार्यालय चलाएर लामो अनुभव हासिल गरेका सिनियर प्रमुख नापी अधिकृत रहने प्रावधानलाई तोड्दै १५–१६ बर्ष प्रमुख नापी अधिकृत भएका र विभिन्न कार्यालय कुशलतापूर्वक चलाएका सिनियर प्रमुख नापी अधिकृतहरुलाई पाखा लगाएर कार्यालयको कुनै अनुभव नै नभएका ढकालले विभागको नीति निर्माण गर्ने, कार्यालयहरुलाई निर्देशन दिने पद ओगटेर बसेका छन् ।

सिनियर प्रमुख नापी अधिकृतहरु महाशाखाहरुमा थन्किएर बसेका छन्, जुनियर ढकालले सिनियरहरुलाई निर्देशन दिने गरेका छन् । महाशाखा प्रमुख(सहसचिव) हरुले पेश गरेको टिप्पणीमा यिनै ढकालले राय बझाउने गरेका छन् ।

ढकालले भाइको नाममा इन्ष्टिच्यूट खोलेका छन् । जहाँ अमिन, सर्भेक्षक र नापी अधिकृतको लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने, आफैंले पढाउने लाखौं रकम लिने गरेका छन् । निजामती कर्मचारीले इन्ष्टिच्यूट खोल्ने, बाहिर पढाउने काम गर्ने कार्य गैरकानूनी कार्य हो । श्रीमतीको नाममा कलेज खोल्दैछन् । गैरकानूनी कमाइबाट काठमाडौं उपत्यकामा ३ वटा घडेरी जोडेका छन् । आफन्तका नाममा काठमाडौं र बुटवलमा घरघडेरी जोडेका छन् । निजी विद्यालय, हाइड्रोमा लगानी, विभिन्न कम्पनीका शेयर खरिद गरेका छन् । अरुले थाहा पाउलान् भनेर घडेरीमात्र किन्छन्, घर बनाउँदैनन् डेरामा नै बस्छन् ।

निजामती कमर्चारीको २–२ बर्षमा सरुवा हुनुपर्नेमा २०६६ सालदेखि विभागमा र २०७३ सालबाट विभागकै योजनामा रही जुनियर भएर सिनियरमाथि हैकम जमाउने, गैरकानूनी लाभ लिने गरेका छन् ।

यसरी विभाग नै कब्जामा लिएर गैरकानूनी लाभ लिन पल्केका ढकाल बाहिर कार्यालय जान चाहँदैनन् । कार्यालय चलाउन कति समस्याहरु छन् । कार्यालयको अनुभव नै नभएका ढकाल विभागको नीति निर्माण गर्ने ठाउँमा बसेर आफूभन्दा सिनियर अनुभवी प्रमुख नापी अधिकृतहरुलाई निर्देशन दिन्छन् । कार्यालय प्रमुखहरुलाई थर्काउँछन् ।

नापी विभाग नै आफ्नो बाबुको बिर्ता जस्तो गर्दछन् । यसरी एउटै ब्यक्ति लामो समयसम्म एउटै कुर्सीमा बसिरहदा बिकृति बढ्दै गएको, सिनियरहरुलाई उनको अन्तर्गत राखेर बेइज्जत गरिएकोले बिकृति हटाउन, सुशासन कायम गर्न र नापी विभागको छवि राम्रो बनाउन र उनको कब्जाबाट नापी विभागलाई मुक्त गर्न उनले गरेका गैरकानूनी कार्य र गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धमा अनुसन्धान तहकिकात गरी कारबाही हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्