Logo
Logo

माधवदेखि रविसम्मका सांसद पद निलम्बनमा, कसलाई के मुद्दा ?


2.2k
Shares

काठमाडौं । प्रतिनिधिसभाका चारजना प्रभावशाली सांसदहरूको पद भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरूका कारण निलम्बनमा परेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सिन्धुपाल्चोक–२ बाट निर्वाचित मोहनबहादुर बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निलम्बनमा परेका हुन् ।

माधवकुमार नेपालमाथि ऐतिहासिक मुद्दा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेको छ । यो मुद्दा नेपालको इतिहासमा पहिलो पटक मन्त्रिपरिषद्को निर्णय र पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप लागेर मुद्दा दायर भएको घटना हो । भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दाको किनारा नलागेसम्म उनको सांसद पद निलम्बनमा रहनेछ । नेपालले भने आफूले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै आएका छन् । रौतहटमा पार्टी कार्यकर्ताहरूसँगको भेटमा उनले भने, “म सधैँ सुशासनको पक्षमा छु, कसैले मलाई भ्रष्टाचारी सिद्ध गर्न सक्दैन ।”

मोहनबहादुर बस्नेत

नेपाली कांग्रेसका सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष निर्वाचित सांसद मोहनबहादुर बस्नेत पनि भ्रष्टाचारको मुद्दामा मुछिएका छन् । अख्तियारले जेठ १ मा उनको नेतृत्वमा भएको अनियमितताको आरोपमा बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार निवारण ऐनको दफा ३३ बमोजिम भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सांसद पद स्वतः निलम्बन भएको छ ।

रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध र सहकारी ठगीसम्बन्धी तीनवटा मुद्दामा निलम्बन भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले यी मुद्दाहरू दायर गरेपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २२ र २७ अनुसार उनको पद निलम्बनमा परेको हो । लामिछाने गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । कास्की प्रहरीले संसद् सचिवालयलाई पत्रमार्फत पक्राउ र मुद्दा दर्ताको जानकारी गराएको थियो ।

टोपबहादुर रायमाझी

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा करोडौँ लिएर ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएसँगै नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको थियो । 

पार्टीबाट निलम्बित भइसकेका एमाले सचिव एवम् अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद रायमाझी जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले २०८० असार १ गते शुक्रवार थुनामा पठाउने आदेश दिएसँगै स्वतः निलम्बित भएका हुन् । 

यी चार सांसदको निलम्बनले नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने देखिन्छ । विशेषगरी, पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा लाग्नुले सुशासन र पारदर्शिताको मुद्दालाई थप पेचिलो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्