Logo
Logo

प्रतिमा पाण्डे सम्मानित


630
Shares

काठमाडौं । नेपाली कला, विशेषगरी पेन्टिङप्रति गहिरो रुचि राख्ने व्यक्तिहरूमध्ये प्रतिमा पाण्डे एक हुनुहुन्छ । सानै उमेरदेखि बुबासँग विदेश भ्रमणमा जाँदा उहाँमा पेन्टिङप्रति अभिरुचि जागृत भएको थियो।

उहाँका बुबाले विदेशका ग्यालरीहरूमा पेन्टिङ हेर्ने र खरिद गर्ने रुचि राख्नुहुन्थ्यो । यहीबाट प्रतिमा पाण्डेमा पनि पेन्टिङप्रति आकर्षण बढेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरा बुबा स्वर्गीय हिमालय शमशेर राणा पेन्टिङका पारखी हुनुहुन्थ्यो । उहाँ विदेश जाँदा त्यहाँका ग्यालरीहरू खोज्नुहुन्थ्यो र उत्कृष्ट पेन्टिङहरू खरिद गर्नुहुन्थ्यो । यो देखेर ममा पनि पेन्टिङप्रति रुचि बढ्यो । मैले नेपालमा पनि धेरै पेन्टिङ खरिद गरेको छु। पेन्टिङ सङ्ग्रह गर्नु मेरो सोख बनेको छ ।’

जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले उहाँलाई ‘ललितकला प्रवद्र्धन सम्मान २०८२’ बाट सम्मानित गरेको छ । सम्मानको कारणबारे सोध्दा उहाँ भन्नुहुन्छ, ‘नेपाली पेन्टिङको किन्न मेरो बानी हटेन । कुनै विशिष्ट विदेशी पाहुनाहरूलाई नेपाली पेन्टिङ उपहार दिनु मेरो सोख पनि हो, जसले विदेशमा नेपाली कला र संस्कृतिको प्रवद्र्धन हुन्छ । अर्कोतिर पेन्टिङमा कलाकारको ठूलो मेहनत हुन्छ, तर त्यसको उचित मूल्य प्राप्त हुँदैन । मैले पेन्टिङ खरिद गर्दा उहाँहरूले आफ्नो मेहनतको मूल्य पाउनु हुन्छ । मैले नयाँ र पुराना दुवै खालका कलाकारका पेन्टिङ किन्ने गरेको छु, जसले कला र संस्कृतिको प्रवद्र्धनमा योगदान पुगेको छ ।’

हालसम्म कति पेन्टिङ सङ्ग्रह गर्नुभएको छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘लगभग एक हजार पेन्टिङ सङ्ग्रह गरेको छु । धेरैजसो नेपाली पेन्टिङ छन् । तर, केही भारतीय, बङ्गलादेशी र श्रीलङ्काली पेन्टिङ पनि छन् ।’

यी सबै पेन्टिङ कहाँ राख्नुभएको छ त ? उहाँ जवाफ दिनुहुन्छ, ‘ कति त बैंक (नेपाल इन्भेस्टमेन्ट बैंक)कै भित्ताहरूमा रंगिएका छन् । कति घरमै सजाएर राखेकी छु ।’

पेन्टिङ अर्थात् आर्ट के हो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘कला जीवन हो, देशको पहिचान हो र संस्कृतिको धरोहर हो । त्यसैले म कला प्रदर्शनीलाई प्रोत्साहन र प्रवद्र्धन गर्छु, जसले नयाँ पुस्तालाई प्रेरणा मिल्छ ।’

नेपालका लागि इटालीका अवैतनिक महावाणिज्यदूत समेत रहनुभएकी पाण्डेले विगत ४५ वर्षदेखि पेन्टिङ सङ्ग्रह गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्