काठमाडौं । नेपालको प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव एक भव्य समारोहका साथ मनाएको छ।
राजधानीको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जनवादी गणतन्त्र चीनको दूतावास, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरू तथा हिमालय एयरलाइन्सका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त समारोहमा चीनका नेपालस्थित राजदूत महामहिम चेन सुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोल, र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्र चन्द्रलाल कर्णलगायत विशिष्ट पाहुनाहरूको सहभागिता रहेको थियो।
दशकभरको सफल यात्रामा प्रवेश गरेको हिमालय एयरलाइन्सले चीन, साउदी अरेबिया, कुवेत, कतार, युएई, मलेसिया र बंगलादेशजस्ता मुलुकहरूसँगको हवाई सञ्जाल विस्तार गर्दै आएको छ। अतिथिहरूले हिमालय एयरलाइन्सले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र उड्डयन क्षेत्रमा खेलेको भूमिकालाई प्रशंसा गरेका थिए।
कार्यक्रममा हिमालय एयरलाइन्सका कर्मचारीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत तथा जातीय पोशाकप्रदर्शनले नेपाली सांस्कृतिक विविधता झल्काएको थियो। यो कार्यक्रम कम्पनीको उपलब्धिको उत्सव मात्र नभई, कर्मचारी, सेयरधनी र यात्रुहरूप्रतिको आभार प्रकट गर्ने अवसरसमेत बनेको थियो।
विसं २०७१ मा स्थापना भई २०७३ देखि व्यावसायिक उडान सुरु गरेको एयरलाइन्सले एशिया र मध्यपूर्वका प्रमुख गन्तव्यहरूमा नियमित सेवा दिँदै आएको छ।
आगामी दशकको यात्रामा एयरलाइन्सले सेवा गुणस्तर अभिवृद्धि, गन्तव्य विस्तार र नेपाललाई दक्षिण एसियाको प्रमुख उड्डयन केन्द्र बनाउने राष्ट्रिय प्रयासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।











