काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोधका कारण बस्न नसकेर स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि निर्धारित बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संसद् सचिवालयले सूचना टाँस गरी बैठक स्थगनको जानकारी दिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन् । उनीहरूले सरकारले छानबिन समिति गठन गर्ने स्पष्ट प्रतिबद्धता नजनाएसम्म अवरोध कायम राख्ने अडान लिएका छन् ।
यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच गतिरोध हटाउने विषयमा छलफल भएको छ ।














