Logo
Logo

ओलीमा राजनीतिक प्रतिशोधको गन्ध देखियो : प्रचण्ड


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले यो कदमले गम्भीर प्रश्नहरू उब्जाएको बताए ।

The current image has no alternative text. The file name is: prachand-5.gif

“प्रधानमन्त्रीज्यूको कार्यशैलीमा राजनीतिक प्रतिशोधको गन्ध आएको छ । अख्तियारको पछिल्लो कदमले पनि केही गम्भीर प्रश्नहरू जन्माएको छ,” प्रचण्डले भने । उनले ललिता निवास प्रकरणमा अख्तियारले पहिले नीतिगत निर्णयहरू आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै आएको स्मरण गराए । “मैले अख्तियारको त्यो पत्र आफैँले देखेको छु, जहाँ बाबुराम भट्टराई र माधव नेपालको विषयमा नीतिगत निर्णय क्याबिनेटको क्षेत्राधिकारमा पर्ने उल्लेख थियो । तर, अहिले अख्तियारले माधवजीको नीतिगत निर्णयमाथि छानबिन थालेर प्रश्न उठाएको छ,” उनले भने ।

प्रचण्डका अनुसार माधव नेपाल स्वयं यो कदमबाट आश्चर्यचकित छन् । “माधवजीले अदालतले न्याय दिने र आफू छिट्टै सफाइ पाउने विश्वास व्यक्त गर्नुभएको छ । मलाई पनि अदालतले निष्पक्ष निर्णय गर्छ भन्ने लाग्छ,” उनले भने ।

उनले २०६४ सालदेखिका सबै प्रधानमन्त्री र गृहमन्त्रीमाथि समान रूपमा छानबिन हुनुपर्ने माग गरे । “यस्तो छानबिनलाई व्यापक बनाउँदा जो कोही पनि दायरामा आउन सक्छन्। तर, नीतिगत र सैद्धान्तिक रूपमा यो कदम ठिक छ कि छैन भन्ने विषयमा गम्भीर बहस आवश्यक छ,” प्रचण्डले भने । 

प्रतिक्रिया दिनुहोस्