
कुनै समयकी लोकप्रिय गायिका हुन् रजिना रिमाल । आफ्नो कोकिल र सुरिलो कण्ठका कारण उनी सांगीतिक क्षेत्रमा छोटो समयमै चर्चित भइन् । ११ वर्षकै उमेरमा ‘परी’ नामक एल्बम निकालेर सांगीतिक यात्रा प्रारम्भ गरेकी रिमालले एकपछि अर्को लोकप्रिय गीत पस्कँदै गइन् । उनले सात हजारभन्दा बढी गीत गाइसकेकी छिन् । आधुनिक मात्र नभएर पाश्र्वगायनमा पनि उनी उत्तिकै अब्बल हुँदै चम्किइन् । तर, केही समययता उनी गायन क्षेत्रबाट अलिक टाडा भएकी हुन कि भन्ने श्रोता–दर्शकले आभाष गरेका छन् । पारिवारिक तथा विविध कारण हुन सक्छ, साँच्ची उनी पहिलेजस्तो गायनमा सक्रिय छैनन् । यद्दपि, विवाहपछि ओझेलमा परेकी रिमाल भन्छिन्, ‘अहिले पनि संगीत साधनामै छु ।’ यिनै गायिका रजिना रिमालसँग रेजिना पाण्डेको जम्काभेट ः
बैवाहिक जीवन कस्तो चलिरहेको छ ?
साधारण तरिकाले राम्रो चलिरहको छ । मैले विवाह गरेकै १० वर्ष भयो । हामी दशौँ वैवाहिक वर्ष मनाउँदैछौँ । एकदमै खुशी छाँै । माया पे्रम बढिरहेको छ ।
अन्तरजातीय विवाह गर्नुभयो, केही अप्ठेरो आयो कि ?
मलाई अन्तरजातीय विवाहले केही फरक परेन । मेरो ममी–बुबाका साथै हाम्रो घरमा धेरै जनाको अन्तरजातीय विवाह भएको छ । हाम्रो घरमा जातपातको कुरै हुँदैन । मेरो श्रीमान नेवार हो । मेरो मावली पनि नेवार नै हो । मलाई खासै केही फरक परेन ।
विवाहपछि के गुमाए जस्तो लाग्छ ?
गुमाएको केही छैन, पाएकी छु । सबै सोचेभन्दा राम्रै भएको छ । माया गर्ने परिवार र केयरिङ गर्ने श्रीमान पाएको छु । सानो छोरो छ । जीवन आनन्दले चलिरहेको छ ।
सासु र आमामा के भिन्नता पाउनुभयो ?
आमा र सासुमा फरक त भइ हाल्छ नि । आमा भनेको आमा नै हो । सासु, सासु नै हो । रोल अलग छ । उहाँहरूको भूमिका नै अलग छ ।
आफू आमा भएपछि के फरक पाउनुभयो ?
धेरै फरक हुँदोरहेछ । साँच्चै यतिफेर म आफनो बच्चासँग निकै रमाएकी छु । जीवनको सुनौलो समयमा मस्ती चल्दै छ ।
विवाहपछि गायनलाई कम समय दिनुभएको हो ?
होइन । धेरैले यही अनुमान गर्नुहुन्छ । तर मेरो काम निरन्तर छ । मैले बाबु पाएको दुई महिनादेखि नै गीत रेकर्ड गराएकी छु । सानो बाबु लिएर स्टेज कार्यक्रममा गाउन धेरै ठाउँ पुगेकी छु । खाली म सामाजिक सञ्जालमा र अन्तरवार्ताहरूबाट मात्र कम आएकी हुँ । जसले गर्दा रजिना बिदेशमा गयो, हरायो भन्नेहरू धेरै भेटे ।
सामाजिक सञ्जालमा किन कम चासो ?
म पहिल्यैदेखि यस्तै हो । म आफनो पर्शनल लाइफ गोप्य राख्न चाहन्छु । पर्शनल र प्रमोसनल अलग अलग पाटा हुन् । म आफ्नो काम गर्छु । म आफ्नो र बच्चाको फोटोहरू सामाजिक सञ्जालमा कमै मात्र पोष्ट गर्छु । यसले गर्दा रजिना गुमनाम भइसमेत भन्छन् ।
तपाईँको आजभोलि पनि गायन कार्य चलिरहेको छ ?
गीत रेकर्डिङहरू गर्दै आएकी छु । स्टेज कार्यक्रम, चलचित्रको गीतहरू गरिरहेकोे छु ।
पहिलेको तुलनामा त कम हो नि ?
एउटा समय आउँछ । त्यही समयसँगै दौड पनि आउँछ । ११ वर्षको उमेरमा जब मैले गाउन थालेँ, तब म निकै व्यस्त हुन्थेँ । गाउन फुर्सदै हुदैनथियो । त्यो मेरो समय थियो, अब म पछि अरू गायक, गायिकाहरू आए । उहाँहरू पनि कम भइसक्नु भयो । अहिले नयाँ पुस्ताको आगमन भएको छ । उहाँहरूले नाम र दाम कमाइराख्नु भएको छ । यसरी नै जिन्दगी चल्ने रहेछ ।
चाहेको तर गाउन नपाएको कुनै गीत छ ?
त्यस्तो चाहिँ भएको छैन । कहिलेकाँही अरू गायक/गायिकाले गाएको मन छुने गीत सुन्दाचाहिँ यो गीत मैले गाउने अवसर पाएको भए हुन्थ्यो भन्ने लाग्छ ।
हालसम्म कति स्टेज शोहरू गर्नुभयो ?
दुई दशकको अवधिमा देशभित्र र बाहिर गरेर धेरै कार्यक्रम गरेँ । जुन गन्ती नै छैन । धेरै कार्यक्रमहरुमा जाने मौका मिल्यो । त्यो मौका आजसम्म पनि पाइरहेको छु ।
तपाईँको आइडल व्यक्तित्व को हो ?
मेरो आइडल बुवा नै हो । उहाँकै कारण आज म रजिना रिमाल भनेर चिनिएकी छु ।
श्रीमान व्यपारी हुनुहुन्छ । उहाँलाई कति सहयोग गर्नुहुन्छ ?
गर्छु । म श्रेष्ठ टेलरिङमा फाइनान्स हेर्छु । तर, यो होइन कि श्रीमान बिजनेसम्यान भएर सजिलै काम पाएँ । मैले फाइनान्समा मास्टर डिग्री गरेको छु । जसले गर्दा उहाँलाई पनि केही सहज भएको छ ।
तपाईँको पहिलो कमाइ कति थियो ?
मेरो पहिलो कमाइ चार हजार रुपैयाँ थियो । त्यो पैसा ‘सपुत’ चलचित्रको गीत गाएर पाएको थिएँ । अहिले त लाखौँ नै पाएको छु ।
तपाईँ एक समय डिमाण्डेड गायिका हुनुहुन्थ्यो नि ?
कहिलेकाँही डिमाण्ड गरेँ होला । तर, म खासै डिमाण्डेड थिइनँ । धेरैले बुझेर नै दिनुभयो । म पनि सन्तुष्ट नै हुन्थेँ ।