काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत भएको बताएका छन् । शनिबार ओखलढुङ्गा लिखु काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेका कुनै पनि व्यक्ति गलत गरे अनुसन्धानको दायरामा आउनुपर्ने र अख्तियारले पूर्वाग्रहका आधारमा काम गरेको भन्नु गलत हुने बताए ।

उनले सार्वजनिक पदमा रहने व्यक्तिले नागरिक लेखापरीक्षणमा उभिन सक्नुपर्ने र बेरुजु देखिए जोसुकैले दण्ड भोग्नुपर्नेमा जोड दिए । पोखरेलले जन्मसिद्ध अधिकार वा वंश परम्पराको आधारमा शासन चलाउने कुराको विरोधमा एमाले अडिग रहेको उल्लेख गरे । लोकतान्त्रिक विधिबाट योग्य व्यक्तिले मुलुकको नेतृत्व गर्नुपर्ने र अनिर्वाचित सत्तालाई एमालेले समर्थन नगर्ने उनले प्रष्ट पारे ।
उनले मुलुकका समस्या समाधान गर्न हाल एमाले र कांग्रेस मिलेर सरकार गठन गरेको बताउँदै आगामी निर्वाचनमा कांग्रेससँगै मुख्य प्रतिस्पर्धा हुने उल्लेख गरे। राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने भएकाले एमालेमाथि हमला हुने गरेको भन्दै उनले त्यसको सामना गर्दै अघि बढ्नुपर्ने बताए ।