Logo
Logo

आत्मनिन्दा, गुटबन्दी र सङ्गठनको कमजोरीले कांग्रेस कमजोर भयो : प्रकाशशरण महत


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र सङ्गठनात्मक कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको नकारात्मक आत्मालोचना, एकअर्कालाई सिध्याउने प्रवृत्ति र सङ्गठनात्मक शिथिलताले कांग्रेसलाई कमजोर बनाएको बताएका हुन् । 

“देश, जनता र पार्टी पहिलो प्राथमिकतामा राख्ने मानसिकता नभए कांग्रेस थप कमजोर हुनेछ,” महतले भने । उनले बलियो नीति भए पनि कमजोर सङ्गठनले कार्यान्वयनमा असफल हुने चेतावनी दिए । सम्पर्क समितिहरूको महत्व स्वीकार्दै उनले बसाइँसराइ र सूचना प्रविधिको विकासले बढेको जनआकांक्षालाई सम्बोधन गर्न यस्ता समितिहरूले जनतासँग जोड्ने सेतुको भूमिका खेल्नुपर्ने बताए । तर, अर्घाखाँचीको उदाहरण दिँदै समितिमा समावेशीताको कमी (ब्राह्मण बाहुल्यता) रहेको भन्दै सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न सुझाए ।

महतले पार्टीभित्र नेताहरूले नै सार्वजनिक रूपमा कांग्रेसको आलोचना गर्नु आत्मघाती भएको बताए । “हाम्रै नेताहरूले ‘सबै भ्रष्टाचारी हामी नै हौं’ भन्ने जस्ता अभिव्यक्तिले जनतामा गलत सन्देश जान्छ,” उनले दुख व्यक्त गरे । एमाले र माओवादीले आफ्ना कार्यकर्तालाई मुद्दा परे पनि आत्मविश्वासका साथ जोगाउने प्रयास गर्ने उदाहरण दिँदै उनले कांग्रेसले यस्तो रणनीति अपनाउन नसकेको बताए ।

कांग्रेसको नीति र सिद्धान्त बलियो रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य र समाजवादप्रति पार्टीको प्रतिबद्धता कायम रहेको बताए । निजी क्षेत्रलाई उत्पादन र राज्यलाई वितरणको जिम्मेवारी दिने समाजवादी अवधारणामा कांग्रेस स्पष्ट रहेको उनको भनाइ छ । तर, सङ्गठन निर्माणमा कमजोरी र ‘पपुलिजम’ मा रमाउने प्रवृत्तिले पार्टी कमजोर बनेको उनले औँल्याए । “युवा र प्रौढ दुवैको ऊर्जा साझा लक्ष्यमा केन्द्रित गर्नुपर्छ,” उनले भने ।

निर्वाचन प्रणालीका कारण कुनै एक दलले एक्लै सत्ता हासिल गर्न नसक्ने भएकाले गठबन्धन अपरिहार्य भएको उनले बताए । “पार्टी क्लब होइन, नीति कार्यान्वयन गर्न सत्तामा जानुपर्छ,” उनले भने । गठबन्धनमा केही सम्झौता आवश्यक भए पनि सबै कुरा त्याग नगरेको भन्दै उनले राष्ट्र बैङ्क गभर्नर नियुक्तिमा सभापति शेरबहादुर देउवाको अडानको उदाहरण दिए ।

संविधान संशोधन, राजसंस्था र धर्म–संस्कृतिको विषयमा कांग्रेसको स्पष्ट अडान रहेको भन्दै उनले राजसंस्थाले संविधानअनुसार व्यवहार नगरेपछि गणतन्त्र अपरिहार्य भएको बताए । हिन्दु, बौद्ध, किरातलगायतका धर्म–संस्कृतिको संरक्षणमा कांग्रेसको स्वामित्व रहने र यो सन्देश जनतामा लैजानुपर्ने उनको भनाइ छ ।

भारतीय जनता पार्टीको अनुशासित र लक्ष्यकेन्द्रित कार्यशैलीबाट कांग्रेसले सिक्नुपर्ने सुझाव दिँदै उनले पार्टीभित्र अनुशासन समिति भए पनि कार्यान्वयन नभएको बताए। “नीति र सिद्धान्तमा बलियो भए पनि सङ्गठन, अनुशासन र नकारात्मक आत्मप्रचारले कांग्रेस कमजोर बनेको छ,” उनले भने ।

नयाँ पुस्तामा ‘पार्टीबाट के पाइन्छ’ भन्ने सोच हाबी भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले गुटबन्दी त्यागेर साझा मूल्यमा आधारित सङ्गठन निर्माण गर्न आह्वान गरे । “पार्टीको न्यूनतम मान्यता र मूल्य बुझ्ने साथीहरू एकजुट हुनुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्