काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केही घण्टामै आफ्नो भनाइ सच्चाएका छन् ।
अध्यक्ष गुरुङले शनिबार एक विज्ञप्ति जारी गर्दै तरुण दलको भवन निर्माणको लागि तीन करोड विनियोजन भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई धन्यवाद दिएका थिए ।

तर, उनले शनिबार नै अर्को विज्ञप्तिमा जारी गर्दै आफ्नो संगठनको भवन बनाउन नभई गणेशमान सिंह स्मृति भवन निर्माण गर्न ३ करोड विनियोजन भएको बताएका छन् । राज्यकोषको पैसाले पार्टी संगठनको भवन बनाउन लागेको भन्दै चर्को आलोचना भएपछि उनले आफ्नो भनाइ सच्चाउँदै प्रष्टीकरण दिएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन् । ‘युवाहरूको सशक्तीकरण, क्षमता विकास र सीपयुक्त तालिम सञ्चालनसहित नेतृत्व विकासका लागि सो भवनले योगदान पुग्ने विश्वास लिएका छौं । युवाहरूको हकहित, क्षमता विकास र प्रतिभा प्रवद्र्धनका लागि तरुण दलको आग्रहमा भवनका लागि बजेट विनियोजन भएको विषयलाई अन्यथा ढंगबाट गलत प्रचार नगरिदिनुहुन अनुरोध गर्दछौं ।’
