
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एशोेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उनले उक्त कुरा बताएका हमुन् ।
सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौड सफलतापूर्वक भइरहेका भन्दै राष्ट्रपतिले भौगोलिक विविधता सुहाउँदा दौडले खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्न सक्ने विश्वास व्यक्त गरे ।
यसमा एम्सजस्ता अन्तरराष्ट्रिय सङ्गठनले नेपालको खेल पर्यटनलाई प्रोत्साहन गरुन् भन्ने राष्ट्रपतिले अपेक्षा व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ । उनले विश्वशान्ति, भ्रातृत्व र सद्भावका लागि खेलकुदको ठूलो महत्व रहेको बताउँदै त्यसमा पनि दौड संस्कृतिले स्वास्थ्य, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपालले पनि खेलकुद्को विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुद क्षेत्रको विकासका लागि बर्सेनि लगानी बढाइरहेको जानकारी दिँदै उनले निजी क्षेत्रबाट पनि खेलकुदको विकासमा सहयोग भइरहेको बताए ।














