Logo
Logo

सुनील पौडेलविरुद्ध भ्रष्टाचारको पाँचौँ मुद्दा दर्ता


2k
Shares

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको पाँचौँ मुद्दा दायर गरेको छ । आइतबार दर्ता भएको यो मुद्दामा पौडेलले नेपाल टेलिकमको प्रबन्ध निर्देशक रहँदा ३३ करोड ४७ लाख रुपैयाँको भ्रष्टाचार गरेको आरोप छ । हाल डिल्लीबजार कारागारमा रहेका पौडेललाई यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रको खरिद प्रकरणमा दोषी ठहर गर्दै विशेष अदालतले ९ वर्ष कैद र २३ करोड २ लाख ७५ हजार जरिवाना सुनाएको थियो ।

अख्तियारले पौडेलविरुद्ध गत जेठ ६ गते राष्ट्रिय सूचना प्रविधि केन्द्रमा ५ करोड ९१ लाखको अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष ०७५/७६ मा २६ करोड २९ लाखको बोलपत्रमा मिलेमतो गरेको आयोगको ठहर छ । त्यस्तै, राष्ट्रिय पेमेन्ट गेटवे खरिद प्रकरणमा पनि उनलाई दोषी ठहर गरिएको थियो । गैर कानुनी सम्पत्ति आर्जनको मुद्दामा पौडेलसँग २३ करोड ७५ लाखको अघोषित सम्पत्ति रहेको पुष्टि भएको छ, जसमा उनले सिंगापुरलगायतका विदेशी बैङ्क खातामा सम्पत्ति लुकाएको आरोप छ ।

यसैगरी, सूचना प्रविधि केन्द्रमा ठेकदार कम्पनीबाट ३ करोड ८ लाख ५० हजार घुस लिएको आरोपमा गत माघ २५ गते अख्तियारले मुद्दा चलाएको थियो । पछिल्लो मुद्दामा नेपाल टेलिकमकी वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरू सबै निलम्बित भएका छन् । अख्तियारले पौडेलविरुद्ध गैर कानुनी सम्पत्ति, विदेशी मुद्रा ओसारपसार, राजस्व चुहावट र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान जारी राखेको छ ।  

प्रतिक्रिया दिनुहोस्