काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रङ्गशालाको निरीक्षण गरेका छन् । अनेरास्ववियुको महाधिवेशनका लागि कीर्तिपुर पुगेका ओलीले फर्किने क्रममा रङ्गशालाको प्रगति अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले रङ्गशालाको निर्माण प्रगति र समयमै काम सम्पन्न हुनेरनहुने विषयमा जानकारी लिए । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकमार्फत रङ्गशालामा १०० दिनभित्र प्याराफिट र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थिए । तर, उक्त निर्णय कार्यान्वयन हुन सकेन ।
रङ्गशालाको निर्माण कार्य गत फागुन २० गतेदेखि सुरु भएको थियो। पहिलो ६५ दिनमा निर्माण नसकिएपछि प्रधानमन्त्री ओलीले असार मसान्तसम्म अन्तिम म्याद तोकेका छन्। निरीक्षणका क्रममा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि सहभागी थिए ।
प्रधानमन्त्री ओलीले निर्माण कार्यलाई तीव्रता दिई तोकिएको समयसीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन्। यो रङ्गशाला नेपालको क्रिकेट विकासका लागि महत्त्वपूर्ण पूर्वाधार मानिएको छ ।