काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नेतृत्व चयन प्रक्रिया सुरू हुने भएको छ ।
आइतबारबाट त्रिवि स्मृति भवनका सुरू भएको अनेरास्ववियुको महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उद्घाटन सत्र सकिएलगत्तै स्मृति भवनमै बन्द सत्र सुरू भएको थियो ।

जारी महाधिवेशनमा अध्यक्ष मण्डल गठन भइ राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत भइसकेका छन् । ती प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको निवर्तमान अध्यक्ष समिककुमार बडालले जानकारी दिए ।
दोस्रो दिनको बन्द सत्र सोमबार बिहान ८ बजेबाट सुरू हुँदैछ । आज प्रतिवेदनमाथि समूहगत छलफल सकेपछि पारितको कार्यसूची छ । त्यसलगत्तै नेतृत्व चयनको प्रक्रिया सुरू हुने बडालले बताए ।
अनेरास्ववियुमा यसपटकदेखि ३२ वर्षे उमेरहद लागू हुँदैछ । उमेरहद लाग्दा निवर्तमान कमिटीका १७ पदाधिकारी र तीन आयोग प्रमुखमध्ये १५ जना बाहिरिनेछन् । पाँचजना सचिव मात्रै बाँकी रहनेछन् ।
सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भट्टराई मात्रै बाँकी रहन्छन् । उनीमध्ये अध्यक्ष बनाउने तयारी भइरहेको छ ।
अहिले पाँचै जनाले अध्यक्षको आकांक्षा राखेको अनेरास्ववियुका प्रतिनिधिहरूले बताएका छन् । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले अखिलका वर्तमान र पूर्वनेताहरू बोलाएर सहमतिमै नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर, सहमतिको सम्भावना भने झिनो मात्रै रहेको छ ।
अधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र चार सचिवसहित १५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ ।