
एजेन्सी । अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले गरेका कार्यहरूको आलोचना गरेकी छन् ।
ह्यारिसले विज्ञप्तिमार्फत लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न ट्रम्प प्रशासनले गरेको सुरक्षा कारबाहीको आलोचना गरेकी हुन् । उनले सुरक्षाकर्मी परिचालन जनताको सुरक्षाका लागि नभई त्रास फैलाउनका लागि भएको बताएकी छन् ।
‘नेसनल गार्ड परिचालन गर्नु अराजकता भड्काउने खतरनाक कदम हो… यो ट्रम्प प्रशासनको क्रूर र सुनियोजित एजेन्डाको एक हिस्सा हो, जसले त्रास र विभाजन फैलाउँछ,’ उनले भनेकी छन् ।
उनले अगाडी भनेकी छन्, ‘विरोध एउटा शक्तिशाली उपकरण हो जुन न्यायको लडाईमा अपरिहार्य छ । हाम्रा सबैभन्दा आधारभूत अधिकार र स्वतन्त्रताको रक्षा गर्न उभिने लाखौं अमेरिकीहरूलाई म निरन्तर समर्थन गर्छु ।’
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २ हजार नेसनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका थिए ।
लस एन्जलसमा जारी प्रदर्शन अवैध आप्रवासी धरकपडको विरोधमा हो । आप्रवासी प्रदर्शनका कारण लस एन्जलस शुक्रबारदेखि अशान्त छ ।