
काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरु छलफलमा जुटेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलहरुले जेठ १३ गतेदेखि निरन्तर संसद अवरोध गर्दै आएका छन् ।
उनीहरुले उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । सत्तापक्ष र विपक्षी दलबीच छानबिन समिति बनाउन समझदारी भने भइसकेको छ । तर दलहरूबीच सहमति पत्रको भाषामा भने कुरा मिलेको छैन ।
आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकअघि दलहरू सहमति जुटाउने प्रयासमा छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आजको संसद् बैठक सञ्चालनको विषयमा सहमतिको प्रयास भइरहेको बताए ।
उनका अनुसार दलहरूबीच लिखित सहमतिको भाषाको विषयमा कुराकानी भइरहेको छ । उनले भने, ’हामीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्नेमा जोड दिएका छौँ। सत्तापक्ष यसमा तयार भइसकेको अवस्था छैन।’
सहमतिको लिखित भाषा टुंग्याउने जिम्मा कांग्रेस–एमालेले पाएका छन् । आज उनीहरूले भाषाको विषयमा छलफल गरिरहेका छन् । माओवादी र रास्वपा संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति भन्ने शब्द नै उल्लेख गरेर अघि बढ्नुपर्ने अडानमा छन् ।