Logo
Logo

कोरानाका कारण विदेशमा मात्र १९१ नेपालीको निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २५ साउन । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा मात्र १९१ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार भारतमा यो साता थप दुई जनाको कोरोनाका कारणले निधन भएपछि विदेशमा मृत्यु हुने नेपालीको सङ्ख्यामा वृद्धि भएको हो । शनिबार साँझसम्म नेपालसहित विश्वभर २६४ नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्याङ्कअनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप नयाँ सङ्क्रमण देखिएको छ । सङ्घका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ ।

समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीमा सामूहिकरूपमा देखिएको कोरोना सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । सङ्घका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना सङ्क्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप सङ्क्रमण देखिएको छैन ।

विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएको सङ्घले जनाएको छ । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान गएको थियो । हालसम्म नेपालसहित ५५ हजार ९२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

५८ देशका ४६ हजार ३१२ जनाको उद्धार

कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट हालसम्म उनीहरुको उद्धार गरिएको हो । विदेशमा अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५०१, जनाको उद्धार गरिएको छ । साउदी अरेबियाबाट छ हजार ९९७, मलेसियाबाट छ हजार ७९४, कुवेतबाट छ हजार ३२९ र कतारबाट पाँचण् हजार २५१ जनाको उद्धार भएको छ । अफगानिस्तानबाट ३३, ओमानबाट ६३६, म्यानमारबाट २६, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ७२०, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, सिङ्गापुरबाट २९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ११० जना स्वदेश फर्किएका छन् ।

फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १०, इराकबाट ३९, दक्षिण सुडानबाट २५०, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, श्रीलङ्काबाट पाँच, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्याङ्क यकिन छैन ।

२४६ जनाको शव नेपाल ल्याइयो

विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ । गैरआवासीय नेपाली संघ ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्