Logo
Logo

नेपाल बीमा प्राधिकरणद्वारा जीवन बीमा कम्पनीका सञ्चालकहरूसँग अन्तरक्रिया


252
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई बीमा ऐन तथा प्राधिकरणका नीति–निर्देशन कार्यान्वयनमा व्यवस्थापनलाई जिम्मेवार बनाउन सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन् ।

प्राधिकरणले काठमाडौंमा आयोजना गरेको जीवन बीमा कम्पनीका सञ्चालकहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओझाले बीमा बजार विस्तारका लागि नयाँ र जोखिम बहन गर्ने बीमालेखहरू ल्याउन जोड दिए । उनले भने, “बाध्यकारी बीमाको दायराबाट बाहिर ननिस्किएसम्म बजार विस्तार हुँदैन । बचतमा आधारित बीमाभन्दा टर्म इन्स्योरेन्स र नवीन जोखिम समेट्ने बीमालेखमा ध्यान दिनुपर्छ । यस्ता बीमालेखलाई शीघ्र स्वीकृति दिन प्राधिकरण तयार छ ।”

लगानी विविधीकरणका लागि थप क्षेत्र खुला गर्न प्राधिकरण तयार रहेको उल्लेख गर्दै ओझाले बीमा कम्पनीको लगानी जनताको पैसा भएकाले जिम्मेवारीपूर्वक, सुरक्षित र दिगो लाभमा आधारित हुनुपर्नेमा जोड दिए । उनले सञ्चालक समितिलाई लगानीको उपयुक्तता जाँच्न र बीमकको लगानी शाखालाई थप जिम्मेवार बनाउन आग्रह गरे । 

अध्यक्ष ओझाले अस्वस्थ प्रतिस्पर्धा रोक्न, समयमै वित्तीय विवरण पेस गर्न र बीमा बजारलाई विधिसम्मत सञ्चालन गर्न सञ्चालकहरूलाई सचेत गराए । साथै, लागत नबढ्ने र सहज हुने गरी नेपाल वित्तीय प्रतिवेदन मान–१७ ९एनएफआरएस० लागू गर्न प्राधिकरणले सहजीकरण गर्ने उनले बताए । 

कार्यक्रममा कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसाय प्रवर्द्धन र बीमितको हित रक्षाका लागि प्राधिकरणले नियामकीय र सहजकर्ताको भूमिका निर्वाह गरिरहेको बताए । उपनिर्देशक हृदयश्वर पण्डित र विरोध वाग्लेले क्रमशः संस्थागत सुशासन र बीमकको वित्तीय अवस्था तथा लगानी विविधीकरणमा सञ्चालक समितिको भूमिकाबारे प्रस्तुति दिए ।
 
कार्यक्रमको सञ्चालन उपनिर्देशक पूर्ण बहादुर थापाले गरेका थिए। नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्