Logo
Logo

छिरिङको प्रेरणादायी यात्राः डान्सिङ स्टारबाट सगरमाथाको शिखरसम्म


छिरिङ शेर्पा, कलाकार तथा ओराही

2.2k
Shares

सोलुखुम्बुकी छिरिङ शेर्पा एक कुसल कलाकार तथा डान्सर हुन् । सन् २०२२ मा ‘डान्सिङ स्टार’को उपाधि जितेपछि छिरिङ चर्चामा आइन् । तर, छिरिङको परिचय यतिमै काफी हुन्न । उनी एभेन्ट अर्गनाइजर पनि हुन् । यिनै, छिरिङले पछिल्लो समय सगरमाथा आरोहीको परिचय पनि थपेकी छिन् । यी सबै कामबाट छिरिङले प्रशंसा पाउँदै आएकी छिन् । छिरिङ भन्छिन्, ‘म जे सोच्छु, त्यो पूरा गर्न चाहन्छु । सानैदेखि सगरमाथा आरोहरण गर्ने सोच लिएकी थिएँ, त्यो पनि पूरा गरेकी छु ।’ कलाकार, डान्सर तथा सगरमाथा आरोही छिरिङ शेर्पासँग रेजिना पाण्डेको जम्काभेट :

सगरमाथाको शिखर चुम्दा कस्तो अनुभव भयो ?

एकदमै मिठो र यादगार अनुभव थियो । पहिलाचाहिँ के होला, कस्तो होला भनेर डर थियो । तर, जब शिखरमा पुगेर नेपालको भण्डा फरफराउन पाउँदा निकै खुसी लाग्यो ।

सगरमाथा चढ्ने रहर कसरी जाग्यो ?

म शेर्पाको छोरी हुँ । मेरो जन्म सोलुखुम्बुमै भएको हो । मेरो परिवार र मेरो बाबा पनि टे«किङ गर्नुहुन्थ्यो । धेरै साथीभाइले मलाई एउटै प्रश्न सोध्नुहुन्थ्यो– सगरमाथा देख्नु भएको छ ? चढ्नु भएको छ ? त्यसपछि मैले साँच्चै सगरमाथा चढनैपर्छ कि जस्तो महसुस भयो । र, सगरमाथाको शिखरमा पुगेर नेपालको राष्ट्रिय झण्डा फरफराउने सोच बनाएँ ।

सगरमाथा चढ्ने सोच बनाउँदै गर्दा परिवारले रोकेको थियो रे नि ?

हो, ममीले रोक्नुभएको थियो । उहाँले सगरमाथा चढेर के हुन्छ र ? के नै हुने होला र ? यस्ता प्रश्नहरू सोध्नुभएको थियो । तर, म एकदमै जिद्धी स्वभावकी भएका कारण सगरमाथा चढ्ने उद्देश्यले त्यससम्बन्ध्ी अध्ययन गर्दै गएँ । नेपाल पर्वतारोहण संघमा टे«निङ लिएँ र हिमाल चढ्न तयार भएँ । मर्ने भए यही पनि मरिन्छ आमा, रहर पूरा गर्न लागेँ भन्दै आमालाई सम्झाएँ । त्यसपछि सगमाथा चढ्ने मेरो उद्देश्य पूरा गरेँ ।

पछिल्लो समय सगरमाथा चढ्ने होड छ नि किन ?

होड भएर मात्र हँुदैन । हिम्मत पनि चाहिन्छ । आँट र हिम्मत हुनेहरूले मात्र सगरमाथा चढ्न सक्छन् ।

काला पथ्थरमा नृत्य गरेर गिनिज बुकमा नाम लेख्ने अवसर पाउँदा कस्तो अनुभव भयो ?

एउटा उद्देश्य पूरा गरेको अनुभव भयो । पाँच हजार पाँच सय मिटर उचाइमा रहेको काला पथ्थरमा डान्स गरेको थिएँ, जो मैले नाचेको गीत पनि निकै हिट भएको थियो । र, गिनिज बुकमा नाम लेख्न पनि सफल भएँ ।

अहिले ‘हिमालकी परी’ भनेर चिनिँदा कस्तो लागेको छ ?

खुसी छु । भगवानको कृपाले सगरमाथाको सफल आरोण गरेँ । अहिले आरोही भनेर चिनिँदा खुसी लाग्छ ।

तपाईँ ईभेन्टहरू पनि गर्नुहुन्छ होइन ?

हो, म अहिले दुई वटा ईभेन्ट गर्छु । मिस शेर्पा र च्यारिटी रन वे । यो मेरो दुईटै ईभेन्ट राम्रो छ । यो च्यारिटी रन वे चाहिँ अपांगता भएका र सिप–मिहेनत गरेर आफूलाई अब्वल बनाइरहनु भएको छ, उहाँहरूको लागि गरिएको ईभेन्ट हो । यो ईभेन्टले पनि राम्रो प्रशंसा पाएको छ ।

यसमा प्रतिस्पर्धा गर्नेहरूले पेमेन्ट गर्छन् ?

यो प्रतिस्पर्धात्मक कार्यक्रम होइन । यो सम्रगमा उर्जा थप्ने कार्यक्रम हो । सहभागी हुनेहरूबाट म पेमेन्ट केही लिन्नँ । कपडादेखि खानपान सबै म आफै गर्छु । म यही समाजभित्र बस्छु, । नेपाली भएको नाताले समाजका लागि केही गर्ने मेरो पनि उत्तरदायित्व छ । नेपालीकै लागि केही गरौँ भन्ने सोचले यो ईभन्ट सुरु गरेकी हुँ ।

यसका लागि कसरी खर्च जुटाउनुहुन्छ ?

जहाँ इच्छा, त्यहाँ उपाय भनिन्छ नि, यसका लागि म अन्य कामको पैसाबाट जुटाउँछु । काम गर्दै जार्दा हातमा हात्त मिलाएर साथ दिनेहरू धेरै भेटिन्छन् । जसले गर्दा मलाई सहज भएको छ । जसले साना साना सहयोग गरेपनि मेरो लागि ठूलो हुने गरेको छ ।

‘मिस शेर्पा’ पनि गर्दै आउनुभएको छ, तर यस्ता जातीय कार्यक्रम गर्दा नकारात्मक सन्देश दिन्छ भनिन्छ नि ?

यो मान्छेको गलत सोचाइ हो । यस्ता कार्यक्रमहरूले हरेकलाई कन्फिडेन्ट बनाएको हुन्छ । यस्ता कार्यक्रम क्राउन लगाउनका लागि मात्र होइन । यस्ता कार्यक्रमको बिशेषता भनेको फेसन कसरी गर्ने ? कसरी बोल्ने ? जनमानसमा कसरी घुलमिल गर्ने भनेर सिकाउछ । साथै, यस्ता कार्यक्रमबाट परम्परा, कल्चर, भाषा र आफ्नो पहिचान सबै भेटिन्छ । यो एउटा कल्चरल इभेन्ट हो, जसले शेर्पा समुदायको भाषा र कल्चरलाई जगर्ने गर्ने काम गर्छ ।

२०२२ को तपाई डान्सिङ स्टारको बिजेता पनि हुनुभयो होइन ?

हो, १२ जना प्रतिष्पर्धीहरूलाई उछिनेर विजय भएको थिएँ । त्यसका लागि दिनरात नभनी मिहेनत गरेको थिएँ । मिहेनतको फल पाउँदा निकै उत्साहित भएँ ।

कलाकारिताप्रति रहरचाहिँ कसरी लाग्यो ?

कलाकारिता मेरो बाल्यकालदेखिकै रहर र रुचि हो । बौद्धमा हाम्रो घरअगाडि पृथ्वी हल थियो । त्यहाँ धेरै कलाकारहरू आवतजावत भएको देख्दा रमाइलो लाग्थ्यो । म पनि सिनेमा निकै हेर्थेँ । एकदिन दीलिप रायमाझी सरले मलाई भन्नुभएको थियो– ‘तिमी मेरी छोरी जस्तै छौँ, तिमी पनि यस क्षेत्रमा लाग्नुपर्छ ।’ त्यसले पनि मलाई उर्जा थप्यो ।

अहिले के गर्दै हुनुहुन्छ ?

म्युजिक भिडियोहरू गरिरहेकी छु । आफनै कामहरू पनि भइरहेको छ । फुर्सदमा बस्नु परेको छैन ।

भिडियोहरू धेरै गर्नुभयो । तर, सिनेमामा उपस्थिति किन कम ?

सिनेमाका काम गर्ने खासै अवसर पाएको छैन । आउला, आउला जस्तो हुन्छ । तर, बिचमै हराइदिन्छ । म राम्रो फिल्मको पर्खाइमा छु ।

प्रतिक्रिया दिनुहोस्