काठमाडौं । रुसले पछिल्ला हप्ताहरूमा युक्रेन विरुद्ध हवाई आक्रमणहरू तीव्र पारेको छ । युक्रेनी अधिकारीहरूले मङ्गलवार युक्रेनको राजधानी किभमा भएको रुसी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका जनाइएको छ ।

युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोले ४४० ड्रोन र ३२ वटा मिसाइल प्रहार गरिएको बताएको छ । यसैबीच,रुसी रक्षा मन्त्रालयले रुसी वायु रक्षा एकाइहरूले रातारात १४७ युक्रेनी ड्रोनहरू नष्ट गरेको दाबी गरेको छ । किभमा नौ घण्टाभन्दा बढी समयसम्म आक्रमण हुँदा मानिसहरू मध्यरातदेखि बिहानसम्म भूमिगत आश्रयस्थलहरूमा लुक्न बाध्य भएका छन् ।
युक्रेनी हवाई रक्षालाई कमजोर बनाउन रुसले ठुलो सङ्ख्यामा ड्रोन पठाइरहेको छ । युक्रेनले पनि रुसमाथि आक्रमण गरिरहेको छ । युद्धविरामको बारेमा दुई देशबीच अहिलेसम्म कुनै सम्झौता भएको छैन ।