Logo
Logo

नेपालको ऐतिहासिक १००औँ टी–२०आई खेल र कीर्तिमानी रेकर्ड


1.6k
Shares

काठमाडौं । नेपालले सन् १९९६ को एसीसी ट्रफीदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । २८ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले ओडीआई मान्यता पाउनुको साथै दुई पटक टी–२० विश्वकप खेलेको छ । नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेट आफ्नो १०० खेल खेल्दा विभिन्न रेकर्डहरू बनाएको छ । नेपालले बनाएका रेकर्डहरू केही सम्झिन लाएक त केही बिर्सन लाएक छन् ।

नेपालले आफ्नो १०० खेल नेदरल्यान्ड्स विरुद्ध खेलेको हो । जो खेल रोमाञ्चकले भरिएको खेलको रूपमा रह्यो । नेपालले यस खेलमा ३ वटा सुपरओभर खेल्यो । तिन पटक सुपर ओभर खेल्दा नेपाल अन्तिममा खेल भने गुमाउन पुग्यो । जसमा पनि नेपालको दुई रेकर्ड बन्यो । एक एउटै खेलमा धेरै सुपरओभर खेल्ने र सुपरओभरमा खाता नखोल्ने रेकर्ड । यो भन्दा पहिले हङकङ विरुद्धको खेलमा बहराइनले कुनै रन नबनाएको रेकर्ड बनाएको थियो । जसमा अब नेपालले पनि आफ्नो नाम जोडेको छ ।

नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । योसँगै खेल पहिलो सुपर ओभरमा प्रवेश ग¥यो । पहिलो सुपर ओभरमा कुशल भुर्तेलले २ छक्का र १ चौकासहित १८ र कप्तान रोहिकुमार पौडेलले १ रन थप्दा नेदरल्यान्ड्सले २० रनको लक्ष्य पाएको थियो । तर, करण केसी महँगो साबित हुँदा नेदरल्यान्ड्सले ६ बलमा १९ रन बनाउँदा खेल दोस्रो सुपर ओभरमा पुग्यो ।

दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १८ रनको लक्ष्य दिएको थियो । दीपेन्द्रसिंह ऐरीले १ छक्का र १ चौका प्रहार गरे । रोहितले १ छक्का र १ रन थप्दा खेल पुनस् सुपर ओभरमा पुग्यो । तर, तेस्रो सुपर ओभरमा भने रोहित चल्न सकेनन् । उनी पहिलो बलमै क्याच भए । अर्का ब्याटर रुपेश सिंह पनि दुई बल डट खेल्दै चौथो बलमा क्याच भए ।

योसँगै नेदरल्यान्ड्सले जितका लागि १ रनको लक्ष्य पाएको थियो । तर, सन्दीप लामिछानेको बलमा माइकल लेभिटले छक्का प्रहार गर्दै जित दिलाए ।

नेपालले बनाएका अन्य विश्व रेकर्डहरू 

नेपालले २०२३ को एशियाली खेलकुदमा मंगोलियाविरुद्ध ३१४-३ को स्कोर बनायो । जो, विश्व कीर्तिमान हो । यो पहिलो पटक कुनै टिमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको आँकडा पार गरेको अवसर थियो ।

सोही खेलमा नेपालको नाममा सबैभन्दा छिटो अर्धशतक पनि बन्यो । दीपेन्द्र सिंह ऐरीले मंगोलियाविरुद्ध ९ बलमा ५० रन बनाएर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाए । उनले ८ छक्का प्रहार गरेका थिए । यसअघि यो रेकर्ड युवराज सिंहको नाममा १२ बलमा थियो । दीपेन्द्र सिंह ऐरीले  बनाएको यो रेकर्ड टुट्ने सम्भावना नरहे पनि बराबरको सम्भावना भने रहेको छ । 

सोही खेलमा नेपालले सबैभन्दा छिटो शतक हान्ने अर्को रेकर्ड पनि बनायो ।  कुशल मल्लले मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर टी २० मा सबैभन्दा छिटो शतकको रेकर्ड बनाए । मंगोलियाविरुद्धको खेलमा नेपालले प्रतिओभर १५.७० को रनरेटमा रन बनायो, जुन टी-२० मा सर्वाधिक टिम स्कोरको खेलमा उल्लेखनीय छ ।

नेपालको यो रेकर्ड भने जिक्बाबेले तोडेको छ । उसले गाम्बीया विरुद्ध २०२४ मा ३४४ हानेको थियो ।  उच्च रनको  रेकर्ड भने अहिले जिम्बाबेको नाममा रहेको छ । 

टी–२० आईमा रनको हिसाबमा सर्वाधिक ठुलो जित

नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । उक्त टी–२० आई र टी–२० दुवैको रन अन्तरको हिसाबमा सर्वाधिक फराकिलो जित हो । नेपाल अघि टी–२० आईमा चेक रिपब्लिकनले टर्कीविरुद्ध २५७ रनको जित हात पारेको थियो ।

सन्दीपको संयुक्त टोलीबाट टी–२० आईमा डेब्यू

सन्दीप देश नभएर संयुक्त टोलीबाट टी–२० आईमा डेब्यू गर्ने पहिलो खेलाडी पनि हुन् । उनले सन् २०१८ मे ३१ मा आईसीसी विश्व ११ बाट वेष्टइण्डिजविरुद्ध टी–२० आईमा डेब्यू गरेका थिए । वेष्टइण्डिजमा आँधीको कारण क्रिकेट रङ्गशालामा क्षति पुगेपछि पुनः निर्माण गर्न आईसीसीले विभिन्न देशबाट विश्व ११ को टिम निर्माण गरेको थियो । त्यो समय नेपालको टी–२० आई मान्यता गुमेको हुँदा विश्व ११ बाट सन्दीपले डेब्यू गरेका थिए ।

सीमित ओभरमा महबुब आलमको १०विकेट

पूर्व तीव्र गतिका बलर महबुब आलम सीमित ओभरको क्रिकेटमा एकै खेलमा सबै १० विकेट लिने पहिलो खेलाडी हुन् । उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ सन् २००८ मा मोजाम्बिकविरुद्ध ७।५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १०विकेट लिँदै गिनिज बुकमा नाम लेखाएका थिए ।

नेपाल २ बलमै विजयी

पत्याउन मुश्किल पर्ला, तर नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो २ बलमै जित हात पारेको कीर्तिमान बनाएको छ । नेपालले सन् २००६ को एसीसी ट्रफी अन्तर्गत म्यानमारविरुद्ध मात्रै २ बलमा जित निकालेको थियो । महबुब आलमले ७ र विनोद दासले ३ विकेट लिएपछि पहिला ब्याटिङ गरेको म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भएको थियो ।

११ रनको लक्ष्य नेपालले २ बलमै पूरा गरेको थियो । उक्त खेलमा ओपनर महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले १–१ बलमा समान ३–३ रन रन बनाउँदा पाँच रन वाइड मार्फत पाएको थियो । महिला क्रिकेटमा रवान्डाले २०१९ मा टी–२० आईमा मालीले दिएको ७ रनको लक्ष्य ४ बलमा पूरा गरेको थियो ।

ओडीआईमा विपक्षीलाई ३५ रनमा अल आउट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले २०२० मा काठमाडौंको त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई १२ ओभरमा ३५ रनमा अल आउट गरेको थियो । उक्त खेलमा सन्दीपले ६ र सुशान भारीले ४ विकेट लिएका थिए । ओडीआईमा ३५ रनमा अल आउट संयुक्तरुपमा कम योगफल हो । श्रीलङ्काले २००४ मा जिम्बावेलाई पनि ३५ रनमै अल आउट गरेको थियो ।

कम बलमा अल आउट

नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गर्दा मात्रै ७२ बल गरेको थियो । ओडीआईमा विपक्षी टोलीलाई कम बलमा अल आउट गर्ने कीर्तिमान बनाएको हो । नेपालअघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई ८३ बलमा ५४ रनमा अल आउट गरेको थियो ।

कुशल ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी

कुशल मल्ल ओडीआईमा कम उमेरमा अर्शतक प्रहार गर्ने खेलाडी हुन् । उनले २०२० फेब्रुअरी ८ मा अमेरिकाविरुद्ध त्रिवि मैदानमा १५ वर्ष ३४० दिनमा अर्धशतक पूरा गर्दै कीर्तिमान बनाएका थिए । उनले सन् २०१९ मा रोहित पौडेलले यूएईविरुद्ध १६ वर्ष १४६ दिनमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका थिए ।

कुशल भुर्तेलको डेब्यूको सुरुवाती तीनै खेलमा अर्धशतक

ओपनर कुशल भुर्तेल टी–२० आईमा डेब्यूको सुरुवाती तीनै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनले २०२१ मा घरेलु मैदान टीयुमा नेदरल्यान्ड्ससँग ६२, मलेसियासँग ६१ र नेदरल्यान्ड्ससँग ६२ रन बनाउँदै उक्त कीर्तिमान बनाएका थिए । उनी अघि इंग्ल्यान्डका डेविड मलानको सुरुवाती दुई खेलमा दुई अर्धशतक हानेका थिए ।

कुशल मल्लको १३७ रन

मंगोलियाविरुद्ध कुशल मल्लले तेस्रो नम्बरमा ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रन बनाएका थिए । तेस्रो नम्बरमा टी–२० आईमा उच्च इनिङ हो । उनले २०१२ मा न्युजिल्यान्डका ब्याटर ब्रेन्डन म्याकुलमले बंगलादेशविरुद्ध तेस्रो नम्बरमा बनाएको १२३ रनको कीर्तिमान तोडेका हुन् । त्यस्तै पाकिस्तानका बाबर आजमले २०१६ मा ओमानविरुद्ध तेस्रो नम्बरमा नै १२२ रन बनाएका थिए ।

कुशल मल्ल र रोहितको १९३ रनको साझेदारी

मंगोलियाविरुद्ध कुशल मल्ल र रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरेका थिए । टी–२० आईमा तेस्रो नम्बरमा बनेको उच्च साझेदारी हो । त्यसअघि न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेष्टइण्डिजविरुद्ध २०२० मा १८४ रनको साझेदारी गरेका थिए ।

 टी–२० आईमा एकै इनिङमा सर्वाधिक छक्का

नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुल २६ छक्का हानेको थियो । टी–२० आईमा एकै इनिङमा हानेको सर्वाधिक छक्का हो । नेपालपछि जापानले २०२४ फेब्रुअरीमा चीनविरुद्ध २३, अफगानिस्तानले आयरल्यान्डविरुद्ध तथा वेष्टइण्डिजले दक्षिण अफ्रिकाविरुद्ध समान २२ छक्का हानेका थिए ।

नेपालबाट उक्त खेलमा कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ हानेका थिए ।  जो रेकर्डपछि जिम्बाबेले २७ छक्का प्रहार गर्दै तोडेको थियो ।

पारस टी–२० आईमा लक्ष्य पछ्याउँदा शतक हान्ने पहिलो कप्तान

टी–२० आई इतिहासमा लक्ष्य पछ्उदा शतक हान्ने पारस खड्का पहिलो कप्तान हुन् । उनले २०१९ को त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली सिंगापुरले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ५२ बलमा ७ चौका र ९ छक्कासहित १०६ रनको शतकीय इनिङ खेलेका थिए ।

उनी अघि लक्ष्य पछ्याउँदा टी–२० आईमा कप्तानको रूपमा नेदरल्यान्ड्सका पिटर सिलारले २०१९ मा स्कटल्यान्डविरुद्ध ९६ रनको इनिङ खेलेका थिए ।

रोहित टी–२० विश्वकपका कान्छा कप्तान

आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालका कप्तान रोहित पौडेलले पहिलो खेलमा नेतृत्व गर्दा २१ वर्ष २७६ दिनका थिए । रोहित टी–२० विश्वकपमा सबैभन्दा कम उमेरमा नेतृत्व गर्ने कप्तान हुन् । उनीअघि जिम्बावेका प्रोस्पेर उत्सेयाले सन् २००७सालको विश्वकपमा २२ वर्ष १७० दिनमा कप्तानी गरेका थिए ।

 लगातार ३३ खेलमा सन्दीपको विकेट यात्रा

स्पिनर सन्दीप लामिछाने ओडीआईमा लगातार ३३ खेलमा विकेट लिने खेलाडी हुन् । सन् २०२० फेब्रुअरीदेखि २०२३ मेसम्म विकेट लिँदै लगातार सर्वाधिक ३३ खेलमा विकेट लिने बलर बनेका थिए । उनीअघि अष्ट्रेलियाका तीव्र गतिका बलर ब्रेट लीले २६, वेष्टइण्डिजका इयान विशोप २५ र अफगानिस्तानका हामिद हसनले २४ खेलसम्म लगातार विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्