Logo
Logo

ग्यालरी स्पेशमा निराका बोटानिकल चित्रहरु (फोटो फिचरसहित)


3.6k
Shares

काठमाडौं । ठमेलस्थित छायाँ सेन्टरको छैँटौं तलामा रहेको ‘ग्यालरी स्पेश’मा यतिखेर नेपाल र इटलीका बोटानिकल तथा बनस्पतिका सुन्दर पेन्टिङहरु अवलोकन गर्न पाइन्छ । जहाँ बरिष्ठ कलाकार निरा जोशीको ‘ड्रोइङ अफ फ्लोरा एण्ड भर्नकुलर आर्किटेक्चर : नेपाल टु इटली’ शीर्षकमा आर्ट प्रदर्शनी भइरहेको छ ।

उक्त प्रदर्शनीमा कलाकार निराका ४५ वटा चित्रहरु राखिएका छन् । ती चित्रहरु अवलोकन गरिरहँदा नेपालका हेरिटेज एवं इटलीका बोटानिकल र वनस्पतिहरु जिवन्तझैँ लाग्छ । कलाकार निरा जोशीको यो नवौँ प्रदर्शनी हो । यसअघि कलाकार निराले नेपाललगायत विभिन्न देशमा आफ्नो कला प्रदर्शनी गरिसकेकी छन् ।

कलाकार निराले पछिल्लोपटक आफ्ना सुन्दर पेन्टिङ तथा आर्टहरु ‘ग्यालरी स्पेश’मार्फत बाहिर ल्याएकी हुन् । ‘मेरो पेन्टिङहरु यस ग्यालरी स्पेशले प्रदर्शनी गर्ने अवसर दिएकोमा निकै खुसी छु’ प्रदर्शनीको उद्घाटनपछि निराले दृष्टिन्युजसँग भनिन्, ‘यो मेरो नवौँ प्रदर्शनी हो । यो प्रदर्शनीमा नेपाल र इटलीका बोटिनिकल एवं वनस्पतिहरु समेटिएको छ । आर्टमा जस्तो देखिएको छ, त्यो त्यस्तै जीवन्त चित्रहरु हुन् ।’

आफू बनस्पतिसम्बन्धी आर्ट गर्न रुचाउँने उनले सुनाइन् । कलाकार निराले भनिन्, ‘खाशमा म बनस्पति प्रेमी छु । त्यही भएर बनस्पति सम्बन्धी नै पेन्टिङ गर्न रुचाउँछु । जहाँ पुग्छु, त्यहाँका सुन्दर भोटानिकल तथा बनस्पतिहरु चित्रमा उतार्छु । यहाँ प्रदर्शनीमा राखिएका चित्रहरु इटली जाँदाखेर बनाएकी हुँ । जसलाई कलेक्ट गरेर प्रदर्शनीमा राखिएको हो ।’

कलाकार निरा जोशीको यो प्रदर्शनीको क्रियटर अर्थात संयोजक हुन् सोफिया पाण्डे, जो ‘ग्यालरी स्पेश’की सञ्चालक पनि हुन् । ‘ग्यालरी स्पेश’मा भेटिएकी सोफियाले भनिन्, ‘म खाशमा फिल्म मेकर हुँ । तैपनि, कलाकारलाई प्रोत्साहन गर्न यस्तै किसिमका आर्ट प्रदर्शनीहरु गर्न रुचाउँछु ।’

उनले केही वर्षअघि नै कलाकार निरा जोशीका पेन्टिङहरु प्रदर्शनी गर्न चाहेको बताइन् । तर, त्यो समय अभावले साइत नजुरेको उनको भनाइ छ । सोफियाले भनिन्, ‘केही वर्षअघिदेखि नै प्रदर्शनी गर्ने भन्ने कुरा थियो । अहिले समय जुरेको छ । उहाँ एकदमै राम्रो कलाकार हुनुहुन्छ । त्यसैले निराका चित्रहरु प्रदर्शनी गर्न उत्सुक थिएँ ।’

कलाकारलाई सर्पोट र प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्यालरी स्पेश’ सञ्चालनमा ल्याएको सोफियाले बताइन् । उनले भनिन्, ‘यो गैरनाफामूलक संस्था हो । जसले निराजस्तै कलाकारका कलाको सर्पोट र कदर गर्दै प्रदर्शनी गरेर ग्राहकसम्म पु¥याउने कार्य गर्दछ ।’

पेन्टिङ आर्टिस्टलाई प्रोत्साहन र सपोर्ट गर्न लालायित रहेपनि सोफिया आफैँ भने आर्टमा खाशै रुचि राख्दिनन् । बरु, उनी फिल्म मेकिङ गर्न उचाउँछिन् । ‘म अध्ययनले पनि फिल्म मेकर हुँ’ पाँच वर्षअघि लण्डनमा फिल्म मेकिङसम्बन्धी अध्ययन गरेर फर्केकी सोफिया भन्छिन्, ‘फिल्म मेकिङ मेरो रुचिको विषय हो । तर, समय अभावले अहिलेसम्म फिल्म बनाएकी छैन ।’ फिल्म निर्देशन नगरेपनि डकुमेन्ट्रीहरु भने उनले निर्माण गरिसकेकी छन् ।

फिल्म मेकिङ एकदमै गाह्रो काम भएको उनको बुझाइ छ । सोफिया भन्छिन्, ‘फिल्म बनाउँछु भनेरमात्र हुँदैन, सबै कुरा मिल्नुपर्ने रहेछ । टेक्निकल पार्ट त छँदैछ, त्यसबाहेक राइटिङ तथा आर्थिक पाटो पनि जुटाउन सक्नुपर्छ । यी सबै कुरा मिल्यो भने फिल्म मेकिङ गर्न सकिन्छ ।’

फिल्म स्टडीपछि आफू फिल्मसम्बन्धित क्षेत्रमै सक्रिय रहेको उनी बताउँछिन् । सोफिया भन्छिन्, ‘फिल्म स्टडी गरेको पाँच वर्ष भयो । त्यसपछि फिल्म त बनाइनँ । तर, सम्बन्धित क्षेत्रमै सक्रिय छु ।’ सोफिया फिल्म लेखन तथा त्यससम्बन्धी विधामा कलम चलाउँछिन् ।

फिल्मसम्बन्धी गहिरो रुची भएकी सोफियाले भविष्यमा फिल्म निर्देशन गर्ने उद्देश्य लिएकी छन् । ‘म यही क्षेत्रमा छु, समयले साथ दिँदै गयो भने भविष्यमा फिल्म बनाउने नै छु’ सोफियाले भनिन्, ‘तर, ठ्याक्कै यही समयमा फिल्म निर्देशन, निर्माण गर्छु भनेर अहिल्यै भन्न सक्दिनँ । तैपनि, यतिचाहिँ भन्न सक्छु कि, एकदिन सोफिया निर्मित फिल्म दर्शकले पक्कै हेर्न पाउनेछन् ।’

उनी ‘साम्बला’जस्ता फिल्म रुचाउँछिन् । आफूले बनाउने फिल्म पनि त्यस्तै धारको हुने सोफियाको भनाइ छ । ‘मलाई बढी आर्टभन्दा पनि रियालिटी झल्काउँने फिल्म मनपर्छ’ उनी भन्छिन्, ‘जो सधैं जिवन्त रहन्छ । फिल्मले मनोरञ्जनका अलावा देश र समाजलाई पनि चित्रित गरेको हुनुपर्छ ।’

सोफिया नेपाली फिल्म उद्योग र कलाकारको भविष्य उज्ज्वल देख्छिन् । नेपाली फिल्म क्षेत्रको विकास र हालको रफ्तारलाई जोड्दै उनी भन्छिन्, ‘अहिले जुन रफ्तारमा नेपाली फिल्महरु बनिरहेका छन्, जसले व्यवसायिक सफलता पनि हासिल गर्दै आएका छन् । त्यसैले पनि नेपाली फिल्म उद्योगमा काम गर्ने कलाकारको भविष्य सुन्दर देख्छु ।’

आर्ट प्रदर्शनीमा भेटिएकी सोफियाले आर्टलाई समेटर पनि फिल्म बनाउन सकिने बताउँछन् । हुन पनि जीवनी र कृतिमा आधारित थुप्रै नेपाली फिल्म बनिसकेका छन् र अझै बन्ने क्रममा छ । तर, कलाको एउटा विधा पेन्टिङ भए पनि त्यससम्बन्धी अहिलेसम्म नेपाली फिल्म बनेको पाइएको छैन । यदि, जीवनीमै आधारित फिल्म बनाउने हो भने पनि नेपालमा एकसेएक आर्ट कलाकार छन् । जसले नेपाल र नेपालीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् र चिनाउँदै आएका छन् ।

गएको शुक्रबार उद्घाटन गरिएको कलाकार निरा जोशीको कला प्रदर्शन तीन हप्तासम्म चल्नेछ । यो तीनहप्ते प्रदर्शनीमा निराका आर्टहरु अवलोकनसँगै मन परेका चित्रहरु खरिद गर्न पनि सकिने छ ।

निरा जोशीको आर्ट प्रदर्शनीको उद्घाटन वरिष्ठ कलाकार उषा राणाले गरेकी थिइन् । प्रदर्शनीको उद्घाटनपछि उषा राणाले कलाकार निरालाई नेपालकी एक कुशल र प्रतिभावान आर्ट कलाकार चर्चा गरेकी थिइन् । उद्घाटन कार्यक्रममा कलाकार तथा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

-तस्बिर सौजन्य : सञ्जय महर्जन

प्रतिक्रिया दिनुहोस्