काठमाडौं । टोकियोले हालै जापानको समुद्री क्षेत्र नजिकै भएको चिनियाँ नौसेना अभ्यासप्रति चिन्ता व्यक्त गरेको छ । जापानले चिनियाँ सैन्य गतिविधिहरू असामान्य रूपमा सार्वजनिक गरिएको भन्दै बेइजिङसँग औपचारिक विरोध गरेको छ ।

अभूतपूर्व कदममा, चीनका दुई विमानवाहक जहाजहरू, शान्दोङ र लियाओनिङ ले हालैका हप्ताहरूमा प्रशान्त महासागरमा एकसाथ अभ्यास गरेका थिए । जसमा ५०० भन्दा बढी लडाकु विमान र हेलिकप्टरको उडान र अवतरण गरिएको थियो ।
जापानी निगरानी विमानले चिनियाँ लडाकु विमानहरूसँग नजिकको भेट भएको जनाएको छ । जसमा जुन ७ र ८ मा शान्दोङ बाट उडेको चिनियाँ जेटले जापानी विमानलाई ८० मिनेटसम्म पछ्याएको र कहिलेकाहीँ त्यसको बाटो काटेको जनाइएको छ । टोकियोले यी कार्यहरू भएको भन्दै आपत्ति जनाएको छ ।
जवाफमा, चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले यी अभ्यासहरू अन्तर्राष्ट्रिय कानुनसँग मेल खाने बताउँदै जापानले उत्तेजक निगरानी गरेको आरोप लगाएका छन् ।
जापानको रक्षा मन्त्रालयले मे २५ देखि लियाओनिङ र शान्दोङ को दैनिक स्थान ट्र्याक गर्ने नक्शा जारी गरेको छ । जसले यी विमानवाहक जहाजहरू जापानी टापुहरू नजिक र जापानको विशेष आर्थिक क्षेत्र भित्र सञ्चालन भएको देखाएको छ ।
चीनले आफ्नो नयाँ विमानवाहक जहाज फुजियान को बारेमा पनि अपडेट दिएको छ । जुन हाल समुद्री परीक्षणमा छ र यो वर्षको अन्त्यसम्म सेवामा प्रवेश गर्ने अपेक्षा गरिएको छ । उन्नत इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट प्रविधिसहित—जुन हाल अमेरिकी विमानवाहक जहाजहरूमा मात्र छ । फुजियानले छिटो र बहुमुखी विमान उडान सक्षम बनाउनेछ । जसले चीनको नौसेना क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।
यो अभ्यास फेब्रुअरीमा तस्मान सागरमा भएको नौसेना अभ्यासपछि भएको हो । जसले अष्ट्रेलिया र न्यूजील्याण्डबाट अपर्याप्त सूचना दिएको भन्दै आलोचना भएको थियो । जसले गर्दा केही वाणिज्यिक उडानहरू अन्तिम समयमा डाइभर्ट गर्नुपरेको थियो । अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड माल्र्सले यो अभ्यास कानुनी भएको स्वीकार गर्दै चीनलाई आफ्नो ूअसाधारण सैन्य निर्माण को कारणबारे थप पारदर्शी हुन आग्रह गरे ।
यी घटनाक्रमहरूको बीचमा, अमेरिकाले इन्डो-प्यासिफिकमा आफ्नो उपस्थितिलाई कायम राख्ने प्रतिबद्धता दोहोर्याएको छ । रक्षा सचिव पिट हेग्सेथले क्षेत्रीय सहयोगीहरूसँग एकता रहेको जोड दिए । यद्यपि, इस्राइल र इरानबीचको तनाव बढ्दै जाँदा दक्षिण चीन सागरबाट अमेरिकी विमानवाहक जहाज मध्यपूर्वतर्फ प्रस्थान गरेको छ । जसले अमेरिकी प्राथमिकताहरूबारे प्रश्न उठाएको छ ।