काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शासकहरूमा खेलाडीहरूको जस्तो पवित्र र शान्तिपूर्ण भावना भए विश्वमा शान्ति कायम हुने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित प्रथम महानगरस्तरीय ‘बडीबिल्डिङ च्याम्पियनसीप’का विजेताहरूलाई पुरस्कार वितरण गर्दै उनले युद्धरत देशका नेताहरूमा शान्ति र मानवताको भावना आवश्यक रहेको औँल्याए ।

‘विश्वका विभिन्न स्थानमा युद्ध भइरहेका छन् । युद्धकारी नेताहरूको मनमा शान्ति र मानवताको भावना जाग्नुपर्छ,’ ओलीले भने, ‘अर्को देशमा आक्रमण गरेर, मानिसको ज्यान लिएर जित्ने भन्दा खेलकुदमार्फत जित हासिल गर्नु श्रेष्ठ हुन्छ । यदि विश्वका शासकहरूमा खेलाडीको जस्तो पवित्र भावना हुने हो भने विश्व शान्त र रमणीय हुन्थ्यो । मानिसहरू ढुक्कले निदाउन सक्थे । निर्दोष बालबालिका, अस्पतालका बिरामी र गर्भमा रहेका शिशुहरूको ज्यान जाने थिएन ।’
प्रधानमन्त्री ओलीले खेलकुदले शान्ति र मित्रता प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसको विकासमा जोड दिनुपर्ने बताए ।














