
काठमाडौं । कैलालीमा १६ दिनको सुत्केरी भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी सुत्केरी १९ वर्षीया तुलसी नाथको हत्या आरोपमा देवर २० वर्षीय नवीन नाथ पक्राउ परेका हुन् । तुलसीले १६ दिन पहिले मात्रै छोरालाई जन्म दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले प्रहरी हिरासतमा रहेका नवीनले प्रहरी समक्ष भाउजूको हत्या गरेको बयान दिइसकेको जानकारी दिए । प्रहरीका अनुसार हत्यापछि नवीनले दुईवटा कानमा रहेका आठ वटा सुनका रिङ र गलामा लगाएको पोते निकालेर घटनालाई भवितव्य देखाउन तुलसाको शव घरदेखि झन्डै ८ सय मिटर टाढा पु¥याएर फालेका थिए ।
तुलसाको हत्यापछि निकालेका गरगहना घरबाहिर ढुंगाले च्यापेर राखेको अवस्थामा फेला परेको डिएसपी चन्दले बताए ।
तुलसाका श्रीमान अर्थात् नवीनका दाजु रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा छन् । नवीन पनि भारतबाट गत चैतमा मात्रै घर आएका थिए ।
भारतबाट फर्किएपछि बेरोजगार रहेका नवीनले सामान्य खर्चका लागि पनि भाउजूसँग पैसा माग्दै आएका थिए । भाउजूसँग पैसा माग्ने गरेको तर उनले वचन लगाएकाले बदलाप्रेरित भएर हत्या गरेको उनले प्रहरीसँगको बयानमा भनेका छन् ।














