Logo
Logo

इरानले भन्यो- अमेरिकालाई जबाफ दिन्छौँ


1.8k
Shares

काठमाडौं । इरानले अमेरिकालाई जबाफ दिने जनाएको छ । आइतबार बिहान अमेरिकाले इरानको विभिन्न तीन आणविक भट्टीमा आक्रमण गरेको थियो । उक्त अमेरिकी आक्रमणको जबाफ दिने इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताएका हुन् ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानी विदेशमन्त्रीको भनाइ उदृत गर्दै लेखेको छ, ‘हाम्रो आणविक पूर्वाधारमा आक्रमण गरेर अमेरिकाले सीमारेखा पार ग¥यो। हामीले जबाफ दिनैपर्छ ।’ उनले अमेरिकालाई जबाफ दिनू इरानको आत्मरक्षाको अधिकार भएको पनि बताएका छन् ।

कुटनीतिक तवरबाट समाधान गर्नका लागि कति ठाउँ खाली छ भन्ने विषय आफूलाई थाहा नभएको बताउँदै इरानी विदेशमन्त्रीले भनेका छन्, ‘अमेरिकाको कदम राष्ट्रसंघको घोषणापत्र र अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तहरूको अकल्पनीय, गम्भीर र अभूतपूर्व उल्लङ्घन हो ।’

सोहीक्रममा वाशिङ्टनको कदमले निम्त्याउने आक्रामक र खतरनाक परिणामको जिम्मेवार ऊ आफैँ हुने उनले बताएको सीएनएनले उल्लेख गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले तत्काल आपतकालीन बैठक बोलाएर अमेरिकाको आपराधिक आक्रमणलाई स्पष्ट रूपमा निन्दा गर्नुपर्ने र वाशिङ्टन प्रशासनलाई यसको अन्तर्राष्ट्रिय कानुन उल्लंघनका लागि जवाफदेही बनाउनुपर्ने पनि उनले बताएका छन् ।

‘इरानले अमेरिकी सैन्य आक्रमण मात्र होइन, इजरायली शासनको लापरवाह र अवैध गतिविधिको विरुद्धमा पनि हरेक सम्भव उपायमार्फत आत्मरक्षा गर्नेछ’ उनले भनेका छन् ।

अमेरिकाले आइतबार बिहान इरानका तीन परमाणु अड्डाहरू फर्दो, नतान्ज र इस्फहानमा आक्रमण गरेको थियो । सो आक्रमणबाट ती सबै परमाणु संरचना ध्वस्त पारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । तर, इरानले भने त्यसबारेमा अहिलेसम्म केही बताएको छैन ।

इरानमाथि अमेरिकी आक्रमणलाई लिएर विभिन्न देशले पनि आलोचना गरेका छन् । साथै, इजरायल–इरान युद्धमा अमेरिका सामेल भएपछि यसले उब्जने संकटबारेमा पनि विश्व समुदायले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्