
एजेन्सी । इरानले इजरायलले आक्रमण बन्द गरेमा आफूले पनि थप आक्रमण नगर्ने बताएको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अरग्चीले सामाजिक सञ्जालमार्फत यदि इजरायलले आफ्नो ‘अवैध आक्रमण’ तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी कारबाही रोक्ने जानकारी दिएका हुन् ।
‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन,’ उनले भनेका छन् । इजरायली आक्रमणको प्रतिक्रियास्वरूप इरानले गरेको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको अरग्चीले बताएका छन् ।
उनले आफ्ना वीर सशस्त्र बलप्रति आभार व्यक्त गर्दै शत्रुको हरेक आक्रमणको अन्तिम क्षणसम्म देशको रक्षा गर्न तत्पर रहेको उल्लेख गरेका छन् । यसअघि, विदेशमन्त्री अरग्चीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो तत्काल कुनै युद्धविराम सम्झौता नभएको र यसबारे पछि निर्णय गरिने जानकारी दिएका थिए ।
यसैबीच, समाचार एजेन्सी रोयटर्सले एक अपरिचित इरानी अधिकारीले युद्धविराममा सहमति जनाएको पुष्टि भएको उल्लेख गरेको छ । रोयटर्सका अनुसार इजरायललाई भने ट्रम्पले पहिले नै युद्धविराममा सहमति गराइसकेका थिए । यद्यपि, इरानले थप आक्रमण नगरेमा मात्र युद्धविराम लागू हुने सर्त इजरायलले राखेको बताइएको छ ।