काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले गठन गरेको छानबिन समितिमाथि प्रश्न उठाएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकबाट पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठित छानबिन समितिलाई दुवै दलले अस्वीकार गरेका छन् । उनीहरूले यो समितिले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन गर्न नसक्ने आरोप लगाएका छन् ।
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले बैरागीलाई सत्तारूढ नेताहरूसँग नजिकको सम्बन्ध र स्वार्थको द्वन्द्वमा रहेको व्यक्ति भन्दै छानबिनका लागि उपयुक्त नभएको बताए । उनले भने, ‘शंकरदास बैरागी सत्तारूढ नेताहरूको ‘राडार’मा छन् र स्वार्थको द्वन्द्वमा जेलिएका व्यक्ति हुन् । यस्तो व्यक्तिले सक्षम निकायमाथि छानबिन गर्न सक्दैनन् । हाम्रो पार्टी यो समितिको विपक्षमा छ ।’
यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले समितिलाई ‘निगाहमा बनेको’ भन्दै आपत्ति जनाए । उनले भने, ‘यो समिति जसको छानबिन गर्नुपर्ने हो, तिनैको प्रभावमा बनेको छ। यो ‘दूधको साक्षी बिरालो’ जस्तै हो, जसले न्याय दिन सक्दैन ।’
रास्वपा र राप्रपाले समितिको विरोध गर्दै मङ्गलवारको संसद् बैठक बहिष्कार गरेका छन् । उनीहरूले गत जेठ १३ देखि गृहमन्त्री लेखकको राजीनामा र निष्पक्ष छानबिन समितिको माग गर्दै आएका छन् ।