काठमाडौं । इरानको गिलान प्रान्तस्थित अस्ताने–ए–अशरफियेह शहरमा भएको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । आक्रमणका कारण चार वटा घर पूर्णरूपमा ध्वस्त भएका छन् ।

गिलान प्रान्तको गभर्नर कार्यालयले यो आक्रमणलाई ‘आतङ्कवादी हमला’ भन्दै कडा निन्दा गरेको छ । इरानी सञ्चारमाध्यमहरूले यो आक्रमण इजरायलले गराएको दाबी गरेका छन् । गिलानका उप-गभर्नरका अनुसार मृतक र घाइतेमध्ये १६ जना महिला र बालबालिका छन् ।
केही मिडिया रिपोर्टहरूले आक्रमणमा मारिनेहरूमा इरानी आणविक वैज्ञानिक मोहम्मद रेजा सिद्दिकी पनि रहेको उल्लेख गरेका छन् । यसैबीच, इजरायली सेनाले गएराति एक वरिष्ठ इरानी आणविक वैज्ञानिकको हत्या भएको पुष्टि गरेको छ ।