चितवन । पेटाको दबाब र हात्तीहरूमाथिको क्रूर व्यवहारप्रति ध्यानाकर्षणपछि चितवन हात्ती महोत्सवले आफ्ना प्रमुख प्रायोजकहरू गुमाएको छ । आधा दर्जनभन्दा बढी कम्पनीहरूले महोत्सवसँग सम्बन्ध तोड्दै आगामी दिनमा कुनै सहयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । यी कम्पनीहरूमा पेप्सी, बिवाईडी, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी), बुद्ध एयर, महालक्ष्मी विकास बैङ्क, एनएलजी इन्स्योरेन्स, टेकमाइण्ड्स नेटवर्क, र मनकामना दर्शन प्रा.लि. रहेका छन् ।

पेटाले महोत्सवमा हात्तीहरूलाई फुटबल खेल्न बाध्य पार्न माहुतेहरूले लट्ठी र चुच्चो काठको चक्कुले बारम्बार पिट्ने र घोच्ने गरेको जानकारी प्रायोजक कम्पनीहरूलाई गराएपछि यो कदम चालिएको हो ।
पेटाले सार्वजनिक गरेको भिडियो फुटेजमा एक माहुतेले दर्शकहरूको अगाडि हात्तीलाई कम्तीमा ६४ पटक घोचेको, लात्ती हानेको र पिटेको देखिन्छ । महोत्सवको कुनै गतिविधिमा संलग्न नभएको समयमा हात्तीहरूलाई पर्यटकहरूसँग फोटो खिचाउन बाध्य पार्दा फलामको अंकुशले समेत पिटिएको देखिएको छ । एक माहुते मुस्कुराउँदै हात्तीलाई बारम्बार घोचिरहेको र अर्कोले सानो हात्तीको छावालाई कुहिनोले अनुहारमा हानेको दृश्य पनि भिडियोमा छ ।
प्रायोजक कम्पनीहरूले पेटासँगको संवादमा हात्तीहरूमाथिको शोषणको निन्दा गरेका छन् । पेप्सीले आयोजकहरूसँग सम्पर्क गरिरहेको जनाएको छ भने टेकमाइण्ड्स नेटवर्कले पशु अधिकार र कल्याणको पक्षमा पेटाको अभियानलाई समर्थन गरेको बताएको छ । एनआईएमबीले पशु क्रूरताविरुद्ध सधैँ प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
‘हात्तीहरूलाई यातना र तनावमा राखेर मनोरञ्जनका लागि खेल्न बाध्य पार्ने यस्ता क्रूर कार्यक्रमसँग सम्बन्ध राख्न नचाहनु प्रायोजकहरूको सही निर्णय हो,’ पेटाका वरिष्ठ उपाध्यक्ष जेसन बेकर भन्छन् । उनले भने,’हात्तीहरूलाई पीडाबाट मुक्त गर्न र यो क्रूर तमाशा अन्त्य गर्न पेटाले आयोजकहरूलाई आह्वान गर्छ ।’
प्राकृतिक रूपमा हात्तीहरू मातृसत्तात्मक बथानमा बस्छन्, एकअर्काको रक्षा गर्छन् र छावाहरूको हेरचाहमा मातृ जिम्मेवारी बाँड्छन् । तर, बन्धक बनाइएका हात्तीहरू यी प्राकृतिक व्यवहारबाट वञ्चित हुन्छन् र प्रायः मानसिक विचलनको संकेतस्वरूप एकोहोरो व्यवहार देखाउँछन् ।
महोत्सवको पूर्वसन्ध्यामा बलिउड अभिनेता तथा निर्माता जोन अब्राहमले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि प्रसाद पाण्डेलाई पत्र लेख्दै पशुमाथिको दुर्व्यवहार रोक्न आग्रह गरेका थिए ।