Logo
Logo

रास्वपाले अराजकता मच्चाइरहेको छ : ठाकुरप्रसाद गैरे


945
Shares

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई प्रश्रय दिने गरी असंसदीय कार्य गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले भिजिट भिसा प्रकरणले सम्पूर्ण नेपाली जनता, संसद् र न्यायप्रेमीहरूको गम्भीर ध्यानाकर्षण गरेको बताए । साथै, दोषीहरूलाई उन्मुक्ति दिन नहुने र निर्दोष व्यक्तिहरूलाई लाञ्छना लाग्नबाट जोगाउनुपर्ने उनको भनाइ थियो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरिरहेको छ । सरकारले यसमा पूर्ण सहयोग प्रदान गरिरहेको छ,’ उनले भने, ‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र व्यवस्थित बनाउन ठोस कदम चाल्नुपर्छ । यस प्रकरणले देशमा निराशा फैलाउने प्रवृत्तिलाई बल दिएको छ ।’

सांसद गैरेले संसद् बहिष्कार गर्ने सांसदहरूले अख्तियार र सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको कार्यप्रति पर्याप्त बुझाइ नराखेको जिकिर गरे ।

‘भिजिट भिसा प्रकरणले नेपालीहरू ठगिएको, सास्ती भोगेको र सम्पत्ति गुमाएको विषयले गम्भीर चिन्ता उत्पन्न गरेको छ,’ उनले भने, ‘दोषीहरूले उन्मुक्ति पाउनु हुँदैन र निर्दोषहरू लाञ्छित हुनुहुँदैन । संसद् बहिष्कार गर्ने सांसदहरूले यो विषयलाई राम्रोसँग बुझ्न सकेनन् ।’

प्रतिक्रिया दिनुहोस्