काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद, संविधान, लोकतन्त्र र प्रणालीको अपमान असह्य हुने चेतावनी दिएका छन् । मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शहीदहरूको बलिदान, सङ्घर्ष र उपलब्धिको अपमान नगर्न सचेत गराए ।

उनले आफूमाथिको आलोचना वा गाली सहन सकिने तर शहीदहरूको बलिदान र संविधानको अपमान बर्दाश्त नहुने बताए । ‘राष्ट्रियता, लोकतन्त्र र प्रणालीको सवालमा ममाथि आलोचना, विरोध वा गाली सहन सकिन्छ,’ओलीले भने, ‘तर शहीदहरूको बलिदान, विगतका सङ्घर्ष, प्रणाली र संविधानको अपमान स्वीकार्य हुँदैन ।’
प्रधानमन्त्री ओलीले वर्तमान प्रणाली र संविधानको रक्षा गर्नु, प्रभावकारी कार्यान्वयन गर्नु र अनुशासन तथा विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको बताए । ‘संविधान, लोकतन्त्र, प्रणाली र सङ्घर्षको अपमान गर्नुहुँदैन । यो प्रणाली र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्नु सरकारको दायित्व हो, जसमा कुनै सम्झौता हुँदैन,’ उनले भने ।