
काठमाडौं । पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका तर्फबाट ८ जना कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।
वकालतनामाको सूची बनाई समन्वय गरिरहेका अधिवक्ता परिवर्तन राईका अनुसार भ्रष्टाचार मुद्दामा बसह गर्न पूर्वप्रधानमन्त्री नेपालका तर्फबाट ५० बढी कानुन व्यवसायीले वकालतनामा लेखाएपनि ८ जनाले मात्रै बहस गर्ने तय भएको हाे ।
जसमा नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी, ललित बस्नेत, चन्द्रकान्त ज्ञवालीलगायतले बहस गर्नेछन् । यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट कम्तीमा ४ जनाले बहस गर्नेछन् ।
विशेष सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता मोहन सागर बस्याल नेतृत्वको टोलीका साथै अख्तियारमा रहेका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल र पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले अख्तियारको तर्फबाट बहस गर्ने भएका छन् ।
पन्तलाई अख्तियारले निजी कानुन व्यवसायीका रूपमा नियुक्त गरेको हो ।
पतञ्जलि योगपीठ भ्रष्टाचार मुद्दामा आज (बुधबार) बिहान विशेष अदालतमा हाजिर भएका पूर्वप्रधानमन्त्री माधव नेपालको बयान बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएकाे छ । अब नेपाललाई थुनामा राख्ने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर बहस हुनेछ ।
पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनी रूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको दाबी गरी अख्तियारले नेपालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो।














