काठमाडौं । समाचार लेखेकै विषयलाई लिएर दृष्टिन्यूजका सञ्चालक, सम्पादक र सञ्चार गृह सम्बन्ध पत्रकारलाई तीन दिनभित्र अदालतमा हाजिर हुन विशेष अदालतले दिएको आदेशप्रति समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजवादी प्रेस संगठन नेपाल, उपत्यका कमिटीले बुधबार विज्ञप्ति जारी गर्दै अदालतको उक्त आदेशले नेपालको न्यायालयले सार्वजनिक नैतिकता र नागरिकको सुुसुचित हुने अधिकारमाथि समेत बन्देज लगाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटी अदालतका यस्ता आदेशप्रति गम्भीर आपत्ति प्रकट गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै सरोकारवाला निकाय र आम नागरिकसँग एक्यवद्धता प्रकट गर्न आश्वान गर्दछ । विगत चार दशकदेखि नेपाली पत्रकारितामा सक्रिय्, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनमा समर्पित योद्धा तथा दृष्टि साप्ताहिकका अध्यक्ष एवं बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ लगायतमाथि विशेष अदालतको आदेशले लोकतान्त्रिक मूल्य स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ ।’
प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि संवैधानिक निकायहरुले आ–आफ्नो भूमिका स्वतन्त्ररुपले निर्वाह गर्न र सञ्चार माध्यमहरुलाई डर, धम्की र अदालती दवाबबाट मुक्त रही काम गर्ने वातावरण निर्माण गर्न पनि समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले माग गरेको छ ।
